global ime bank Long Banner Ad

गृहपृष्ठ पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो

पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो

पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो

हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका नागरिकलाई उक्त खोप लगाइएको हो ।

वीरगञ्ज नगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र धोवीनी गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले पर्सामा ६ लाख ५२ हजार लक्षित जनसङ्ख्या रहेकामा २१ हजार १९६ जनालाई हैजा विरुद्धको खोप दिइएको जानकारी दिए ।

जगरनाथपुरमा ३२ हजार ५३ जनामध्ये १७५ जनालाई, सखुवा प्रसौनीमा ३५ हजार १७९ जनामध्ये ४ हजार ९९९, वीरगञ्ज महानगरपालिकामा दुई लाख ७५ हजार ६७३ जनामध्ये नौ हजार ५१३, पोखरियामा ३७ हजार ८७४ जनामध्ये चार हजार ८७६ र धोवीनीमा २२ हजार ५४२ जनामध्ये दुई हजार ५३३ जनालाई हैजा विरुद्धको खोप लगाइएको हो ।

पर्सामा आइतबार प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलाई खोप लगाएर उक्त अभियान थालिएको हो । सरकारले हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखी पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोगबाट हालसम्म पर्सा र बारामा गरी एक हजार ६८५ हैजाका बिरामी फेला परेका छन् । हैजा विरुद्धको खोप अभियानका लागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारा पठाइसकेको छ । दुवै जिल्लामा चार लाख तीन हजार ३२१ जनालाई खोप दिइनेछ ।

हाल पर्साकोे १४ वटै स्थानीय तह र बाराका ६ स्थानीय तहमा सो अभियान सञ्चालन गरिनेछ । खोप शाखा प्रमुख डा गौतमले हालसम्म सबै जना खोप लिन इच्छुक रहेका जानकारी दिए ।

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु