गृहपृष्ठ जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा थन्किए १००० राहदानी
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा थन्किए १००० राहदानी
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा झण्डै १००० को संख्यामा राहदानी यत्तिकै थन्किएका छन् । यसरी थन्किएका राहदानी २०६७ सालपछि नेपाल सरकारले वितरण गरेका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पनि छन् ।
वि.सं. २०६७ भन्दा पहिले आम सर्वसाधारणले हस्तलिखित राहदानी जिल्लाबाट १ दिनमै पाउँथे लिएर जान्थे तर २०६७ सालपछि एमआरपीको लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन फर्म र राजस्व संकलन गरी राहदानी विभाग काठमाडौंमा पठाउनुपर्ने र विभागवाट छापेर जिल्लामा आउँदा झण्डै ३०/४० दिन लाग्ने गरेको छ ।
तात्कालीन समयमा सम्बन्धित व्यक्तिले राहदानी आवश्यकताको महसुस गरी आवेदन फर्म भरी, राहदानी शुल्क पनि बुझाएका तर पछि राहदानी त्यती जरुरी नभएर राहदानी लिन नआएका कारण यी राहदानी थन्किइराखेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय अर्घाखाँची राहदानी शाखा प्रमुख लक्ष्मी घिमिरेले जानकारी दिए ।
उनले २०६७ सालदेखि विभिन्न समयमा राहदानीको आवेदन दिई दस्तुर समेत बुझाई राहदानी लिन नआएका आवेदकहरुले जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा राजश्व तिरेको रसिद, सक्कल नागरिता र पुरानो राहदानी भए सो समेत लिई सम्बन्धित व्यक्ति नाता खुल्ने व्यक्तिले सम्पर्क राखी आफ्नो परिवारका सदस्यको राहदानी बुझिलिन अनुरोध गरेका छन् ।
साथै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट सम्पादन हुने कार्य तथा अन्य कुनै विषयमा आम सर्वसाधारण नागरिकले जानकारी लिन चाहेमा पैसा नलाग्ने टोल फ्रि नं. १६६०७७४२०४२ मा सम्पर्क गरी आवश्यक जानकारी लिन सकिने पनि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रकाशित समय : ००:४४ बजे


















