गृहपृष्ठ निर्वाचन आयोगले कसलाई दियो ४० वटा गाडी?

निर्वाचन आयोगले कसलाई दियो ४० वटा गाडी?

निर्वाचन आयोगले कसलाई दियो ४० वटा गाडी?

निर्वाचन आयोगले प्रक्रिया नै नपुर्‍याइ ४० वटा गाडी विभिन्न निकायलाई बाँडेको पाइएको छ । स्थानीय तह, संघीय तथा प्रदेश संसदको निर्वाचनका क्रममा भारतले उपलब्ध गराएकामध्ये ३९ वटा र आयोग आफैले किनेकामध्ये एउटा गरी ४० वटा सवारीसाधन विभिन्न निकायलाई बाँडेको हो ।
निर्वाचनका लागि भनेर भारतले ८६ वटा आधुनिक सवारी साधन निर्वाचन आयोगलाई अनुदानमा उपलब्ध गराएको थियो ।
निर्वाचन आयोगले कुन कुन निकायलाई यसरी सवारी साधन बाँड्यो भन्ने विषयमा महालेखा परीक्षकले केही खुलाएको छैन । महालेखा परीक्षको ५६ औं प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा आयोगले प्रतिगोटा .२ करोड ३२ लाखका दरले एक निजी कम्पनीमार्फत २९८२ सीसीको
५ वटा प्राडो जीप ११ करोड ६० लाख रुपैयाँमा किनेको छ ।

सरकारी गाडीको रेकर्ड नै छैन

यसैबीच सरकारी गाडीबारेको रेकर्ड नै नभएको पाइएको छ । सरकारी निकायहरूले आर्थिक वर्ष २०७४÷७५ मा मात्र रु.६ अर्ब ६१ करोड ४५ लाख ३७ हजारका ६ हजार ९०९ मोटरसाइकल तथा १ हजार २४ कार, जिप, पिकअपलगायतका सवारीसाधन खरिद गरेका छन् ।
यातायात व्यवस्था विभागले उपलब्ध गराएको तथ्यांकअनुसार सरकारी नम्बरमा दुई पांग्रे सवारीसाधन ३५ हजार २८० र चार पांग्रे सवारीसाधन २१ हजार ९५ वटा दर्ता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, महालेखाले लेखापरीक्षणका लागि ६० निकायबाट विवरण माग गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ निकायमा मात्र एकीकृत अभिलेख रहेको र अन्य निकायले आफ्नो कार्यालयको मात्र अभिलेख राखेको जवाफ दिएका छन् ।
महालेखाका आनुसार सिंहदरबारस्थित २२ मन्त्रालयमा १ हजार ११५ मोटरसाइकल र ८ सय सवारीसाधन रहेकोमा ९०९ मोटरसाइकल र ६२२ सवारीसाधन मात्र चालु हालतमा छन् । ती मन्त्रालयहरूमा ९३ मोटरसाइकल र ८४ सवारीसाधन मर्मत सम्भार गरी सञ्चालन गर्न सकिनेमा मर्मत सम्भार नै नगरी राखिएका छन् । बेवारिसे अवस्थामा रहेका २१ मोटरसाइकल र २६ सवारीसाधनको खरिद, भण्डारण र प्रयोगसम्बन्धी कागजात र अभिलेख व्यवस्थित नभएको महालेखाले जनाएको छ ।
मर्मत हुन नसक्ने भई लिलाम गर्नुपर्ने अवस्थामा ९२ मोटरसाइकल र ६८ सवारीसाधनमध्ये प्रधानमन्त्रीको निर्देशनपश्चात ११ मोटरसाइकल (१.९६ प्रतिशत) र ९ सवारीसाधन (१३.२४ प्रतिशत) मात्र लिलाम गरेको महालेखाको प्रतिवेदमा उल्लेख छ । लिलाम गर्न बाँकीमध्ये परराष्ट्र मन्त्रालयमा १४ सवारीसाधन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २१ मोटरसाइकल छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त तथ्यांकअनुसार ७१ मोटरसाइकल र २०६ सवारीसाधन विभिन्न प्रदेश कार्यालय तथा स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।

संस्थान र आयोजनाका गाडी दुरूपयोग

नेपाल विद्युत प्राधिकरणको चमेलिया जलविद्युत आयोजनाले आयोजनाको प्रयोजनका लागि खरिद गरेका ८ थान प्राडो सवारीसाधन ३ पूर्व प्रधानमन्त्री, १ पूर्व गृहमन्त्री, १ प्रधानमन्त्रीको सचिवालय र ३ गृह मन्त्रालयले विगतदेखि प्रयोग गर्दै आएकोमा नेपाल सरकारको २०६६ चैत १७ र विभिन्न मितिको निर्णयबाट नेपाल विद्युत प्राधिकरणलाई रु.६ करोड १७ लाख ८ हजार भुक्तानी गरी नेपाल सरकारको नाममा लैजाने निर्णय गरेको भए तापनि ९ वर्ष बितिसक्दासमेत नेपाल सरकारको नाममा आइनसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट बा. १३ च ५७९३ लगायतका ४ सवारीसाधन प्रयोग गरेको प्रतिवेदनमा छ । महालेखाका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका बा.६ च ८८३६ लगायतका २ जिप सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र एक जिप प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रयोग गरेको देखिएको छ । नेपाल आयल निगम लिमिटेडका बा.१.ञ २१३७ लगायत ४ जिप तथा कार समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रयोग गरेको छ ।
मेलम्ची खानेपानी विकास समितिले आयोजनाको कामको लागि खरिद गरेका सवारीसाधनहरुमध्ये ९ सवारीसाधन अन्य निकायलाई उपलब्ध गराएको छ । ती सवारीसाधन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास र खानेपानी मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा, काठमाडौँ उपत्यका विकास पौधिकरण र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले एकदेखि तीन वटासम्म प्रयोग गरेको देखिन्छ ।
ती निकायमा प्रयोग भएका सवारीसाधनमध्ये टोयोटा प्राडो जिप ८ र कोरोला कार १ रहेको छ ।

बुलेटप्रुफ कारको बेहाल
पूर्वराजपरिवारका सदस्यले प्रयोग गरेका ११ भी.भी.आई.पी. बुलेट प्रुफ कारसहित २६ सवारीसाधन रहेका छन् । यीमध्य एउटा भी.भी.आई.पी. बुलेटप्रुफ कार ०७५ असोज ७ गते उपराष्ट्रपतिको कार्यालयमा हस्तान्तरण गरेको महालेखाले जनाएको छ । अन्य १० कार सामान्य सर्भिसिङ, ब्याट्री परिवर्तन, इन्जिन मर्मत गरी सञ्चालन हुन सक्ने भए पनि चालू अवस्थामा नरहेको ४ कार ०७५असोज ७ गते नेपाली सेनालाई हस्तान्तरण गरेको र ६ कार नारायणहिटी दरबार संग्रहालयमा नै प्रयोगविहीन अवस्थामा छन् ।

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु