global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचनको विरुद्धमा अल्जेरियामा प्रदर्शन, मतदान केन्द्रमा आक्रमण

निर्वाचनको विरुद्धमा अल्जेरियामा प्रदर्शन, मतदान केन्द्रमा आक्रमण

निर्वाचनको विरुद्धमा अल्जेरियामा प्रदर्शन, मतदान केन्द्रमा आक्रमण

अल्जेरियाको राजधानी अल्जियर्समा बिहीबार पनि दशौँ हजार आन्दोलनकारीले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार अर्थात डिसेम्बर १२ तारिखका लागि तय गरिएको निर्वाचनकै दिन उनीहरूले निर्वाचनको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनसँगै उनीहरूले कतिपय मतदान केन्द्रमा समेत आक्रमण गरेको र निर्वाचनलाई बाधा पुर्‍याएको जनाइएको छ ।

लामो समयदेखिको आन्दोलन मत्थर पार्न र नयाँ सरकार बनाउन भन्दै भइरहेको निर्वाचनका विरुद्ध नै प्रदर्शन भइरहेको हो ।

निर्वाचनसँग सम्बन्धित कानूनमा व्यापक सुधार गर्नुपर्ने र पुरानो कानूनअनुसार हुने निर्वाचन आम नागरिकले चाहेजस्तो नहुने भएकाले प्रदर्शनमा उत्रिनु परेको आन्दोलनकारीहरूले जनाएका छन् ।

अल्जेरियामा गत जुलाई ४ का लागि निर्वाचनको मिति तोकिएको थियो तर योग्य उम्मेदवारको अभाव देखाउँदै निर्वाचन डिसेम्बर १२ का लागि सारेर अब्देलकादेर बेनसालाहलाई अन्तरिम राष्ट्रपति बनाइएको छ ।

निर्वाचन कानूनमा सुधार नगरी चुनाव गरिएकाले अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने भन्दै उनीहरूले विरोध जारी राखेका हुन् ।

उनीहरूले सरकार र निर्वाचनका विरुद्धमा प्रदर्शन गरेको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् । अल्जेरियामा अधिकारकर्मीहरूले झण्डै दश महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् ।

यसअघि अफ्रिकी मुलुक अल्जेरियाका तत्कालीन राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाले गत अप्रिलका लागि तय भएको निर्वाचन पनि स्थगित गरिएको थियो ।

उनी आफैं उम्मेदवार बन्ने विषयले पनि आन्दोलनकारीहरूलाई थप आक्रोशित बनाएपछि निर्वाचन स्थगित गरिएको थियो ।

वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले ८२ वर्षीय वृद्ध र बिरामी राष्ट्रपति अब्देलाजिजलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरूले माग गरेका थिए । त्यही दबाबअनुसार उनले केही समयपछि राजीनामा दिएका छन् ।

अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौँ शहरमा पनि व्यापक विरोध भइरहेको जनाइएको छ ।

अल्जेरियाली युवामा आर्थिक अवसरको कमीका कारण निराशा उत्कर्षमा पुगेको छ भने मुलुकमा नयाँ राजनीतिक नेताको माग भइरहेको छ । (एजेन्सी)

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु