वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
वि.सं.२०८३ कात्तिक १ आइतवार १४:२९
shares

काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्।
उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार गरेका थिए । फ्रान्सेली विदेशमन्त्री जिन–नोएल बारोटले दोषीलाई पक्राउ गर्न माग गरेका छन्।
यसअघि ‘द वासिङ्टन पोस्ट’ की अमेरिकी फोटो पत्रकार हेइडी लेभिन बस्तीका बासिन्दाहरूको आक्रमणमा परी घाइते हुनुभएको थियो । उहाँको मेरुदण्डको हड्डी भाँचिएको छ। अमेरिकी राजदूत माइक हुकाबीले दोषीलाई कारबाही गर्न माग गरेका छन्।
इजरायली विदेश मन्त्रालयले आक्रमणको निन्दा गर्दै अनुसन्धान गर्ने जनाएको छ । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बस्तीवासीविरुद्ध बदनाम गर्ने अभियान चलाइएको आरोप लगाएका छन् । उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले भने हिंसाले इजरायलको अन्तर्राष्ट्रिय वैधानिकता कमजोर बनाइरहेको बताए।
जैतुन टिप्ने वार्षिक मौसममा वेस्ट ब्याङ्कमा हिंसा बढ्ने गरेको छ । प्यालेस्टिनी किसानले बस्तीवासीबाट आक्रमण र जग्गा कब्जाको सामना गर्नुपरेको आरोप लाग्दै आएको छ । सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कमा करिब ३० लाख प्यालेस्टिनी र पाँच लाख इजरायली बस्तीवासी बसोबास गर्छन्। अन्तर्राष्ट्रिय कानूनअनुसार इजरायली बस्ती अवैध मानिन्छन्।
























