माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता
वि.सं.२०८३ असोज ३१ शनिवार ०८:१४
shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने सेवालाई सहज र विश्वसनीय बनाउने उद्देश्यले सम्झौता भएको छ।
सम्झौताअनुसार विदेशमा रहेका नेपालीले मनीग्राम र टीएमएल रेमिट्यान्समार्फत पठाएको रकम नेपालमा माछापुच्छ्रे बैंकको सेवा सञ्जालबाट प्राप्त गर्न सक्नेछन्। बैंकले बेलायत, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न देशबाट रकम पठाउने प्रक्रियालाई सहज बनाउने लक्ष्यसहित युनाइटेड रेमिटसँग सहकार्य गरेको जनाएको छ।
सम्झौतापछि विदेशस्थित युनाइटेड रेमिटका प्रतिनिधि कार्यालयमार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका १५६ शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरबाट भुक्तानी लिन सकिनेछ।
सम्झौतापत्रमा युनाइटेड रेमिटका सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार स्थापनाकालदेखि नै नयाँ प्रविधिमा आधारित बैंकिङ सेवा विस्तारमा जोड दिँदै आएको छ। हाल बैंकले देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी कुल २५५ स्थानबाट सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी, बैंकले १९४ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। युनाइटेड रेमिटसँगको सहकार्यले विदेशबाट रकम पठाउने र नेपालमा प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
























