गृहपृष्ठ इसेवाले ल्यायो डिजिटल वालेटमा पहिलोपटक ‘बाइ नाउ, पे लेटर’ सेवा

इसेवाले ल्यायो डिजिटल वालेटमा पहिलोपटक ‘बाइ नाउ, पे लेटर’ सेवा

इसेवाले ल्यायो डिजिटल वालेटमा पहिलोपटक ‘बाइ नाउ, पे लेटर’ सेवा

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले डिजिटल वालेटको क्षेत्रमा पहिलोपटक ‘बाइ नाउ, पे लेटर’ (बीएनपीएल) सेवा सार्वजनिक गरेको छ । यो सेवामार्फत ग्राहकले इसेवा प्लेटफर्मबाट विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।

यस सम्बन्धमा असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारीपत्रमा हस्ताक्षर भएको हो ।

साझेदारीपत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्ट प्रालिका मनन तुलाधरले हस्ताक्षर गरेका छन् ।

साझेदारीअनुसार ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत बीएनपीएल सुविधा लिन सक्नेछन् । रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।

९.९९ प्रतिशत ब्याजमा दुई लाख रुपैयाँसम्म कर्जा

बीएनपीएल सेवाअन्तर्गत ग्राहकले विद्युतीय स्कुटर खरिदका लागि डिजिटल माध्यमबाट वित्तीय सुविधा लिन सक्नेछन् । ग्राहकले इसेवा एपबाटै कर्जा प्रक्रियासहित आवश्यक प्रक्रिया पूरा गरी यो सुविधा लिन सक्नेछन् ।

रिलायन्स फाइनान्सले विद्युतीय स्कुटर खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम दुई लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ । ग्राहकले उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्ताबन्दीमा चुक्ता गर्न सक्नेछन् ।

यसले ग्राहकलाई एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै आवश्यकताअनुसार किस्तामा भुक्तानी गर्ने विकल्प उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

डिजिटल वित्तीय सेवा र विद्युतीय यातायातमा जोड

इसेवाले डिजिटल प्रविधिमार्फत वित्तीय सेवाको पहुँच सहज बनाउन ग्राहकका दैनिक आवश्यकतासँग जोडिएका विभिन्न नवीन समाधान विकास गर्दै आएको जनाएको छ । बीएनपीएल सेवा पनि डिजिटल माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने प्रयासकै निरन्तरता भएको कम्पनीको भनाइ छ ।

विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने उक्त साझेदारीले वातावरणमैत्री यातायातको प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । विद्युतीय सवारीसाधनको प्रयोगमार्फत प्रदूषण न्यूनीकरण, दिगो यातायात प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्र निर्माणमा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

इसेवा, रिलायन्स फाइनान्स र परिमिता इन्भेष्टमेन्टबीचको त्रिपक्षीय साझेदारीले डिजिटल भुक्तानी, वित्तीय सेवा तथा विद्युतीय यातायात क्षेत्रबीचको सहकार्य विस्तार गर्दै ग्राहकमैत्री नयाँ सेवाको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

इसेवाले ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै आगामी दिनमा पनि नवीन डिजिटल समाधान विस्तार गर्दै जाने जनाएको छ ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु