गृहपृष्ठ युद्धले ऊर्जा संकट गहिरिँदा तेल कम्पनीको नाफा बम्पर
युद्धले ऊर्जा संकट गहिरिँदा तेल कम्पनीको नाफा बम्पर
काठमाडौं । युद्धका कारण विश्व ऊर्जा बजारमा आपूर्ति अवरोध र लागत बढिरहेका बेला पश्चिमी मुलुकका पाँच ठूला तेल कम्पनीले सन् २०२६ को तेस्रो त्रैमासिकमा करिब ५३ अर्ब अमेरिकी डलर संयुक्त नाफा कमाउने अनुमान गरिएको छ । यो दोस्रो त्रैमासिकको ४८ अर्ब डलरभन्दा बढी र गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरै हो ।
नाफा बढ्ने कम्पनीमा बेलायतका बीपी र सेल, अमेरिकाका शेभरोन र एक्सन मोबिल तथा फ्रान्सको टोटल इनर्जी छन् । रेकर्ड रिफाइनिङ मार्जिनबाट विशेष लाभ पाउनेमा ठूलो रिफाइनिङ क्षमता भएको एक्सन मोबिल प्रमुख रहेको आरबीसी क्यापिटल मार्केट्सले जनाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य कारबाहीपछि सुरु भएको युद्धले विश्व ऊर्जा बजारमा ठूलो असर पारेको छ । युद्धका क्रममा इरानले अमेरिकी तथा खाडी क्षेत्रका सहयोगीका सैन्य र ऊर्जा पूर्वाधारमा समेत जवाफी हमला गरेको छ ।
होर्मुज संकटले आपूर्ति लागत बढायो
युद्धसँगै होर्मुज जलमार्गमा जहाज आवागमन प्रभावित हुँदा विश्व तेल आपूर्तिमा दबाब बढेको छ । सामान्य अवस्थामा विश्वको समुद्री तेल व्यापारको करिब एकचौथाइ हिस्सा यही मार्गबाट हुने गर्थ्यो । अवरोधका कारण तेल ढुवानीको वैकल्पिक मार्ग र लागत दुवै बढेका छन् ।
साउदी अरब र संयुक्त अरब इमिरेट्सले पाइपलाइनमार्फत वैकल्पिक निर्यात बढाएका छन् । तर, लामो समुद्री मार्ग र महँगिएको ट्यांकर भाडाले आपूर्ति लागत बढाएको छ । सेप्टेम्बर २४ मा हुथीले साउदी अरबमाथि क्षेप्यास्त्र हमला गरेपछि आपूर्ति अवरोधको चिन्ता बढ्दा ब्रेन्ट कच्चा तेलको मूल्य १०६.६० डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।
नाफा बढे पनि लगानीमा सावधानी
बढेको आम्दानीका बाबजुद ठूला तेल कम्पनीहरू नयाँ परियोजनामा लगानी विस्तार गर्न सावधान देखिएका छन् । पाँच कम्पनीको संयुक्त ऋण पहिलो त्रैमासिकको करिब २०० अर्ब डलरबाट तेस्रो त्रैमासिकमा १५० अर्बमा झर्ने अनुमान रहेको एलएसईजीले जनाएको छ ।
युरोप र उत्तर अमेरिकामा नयाँ रिफाइनरीको सम्भावना कमजोर भए पनि एसिया र अफ्रिकामा बढ्दो इन्धन माग तथा एटलान्टिक क्षेत्रका नयाँ तेल परियोजनामा लगानीको सम्भावना देखिएको छ ।
ऊर्जा आपूर्ति अवरोधले डिजेलको मूल्य र ढुवानी लागत समेत बढाएको छ । ट्यांकर, कार्गो जहाज, ट्रक र मालगाडीमा डिजेलको व्यापक प्रयोग हुने भएकाले यसको मूल्यवृद्धिले खाद्यान्नदेखि औद्योगिक वस्तुसम्मको आपूर्ति लागत बढाउन सक्छ । होर्मुजलगायत प्रमुख समुद्री मार्गमा अवरोध लम्बिएमा यस्तो लागत दबाब थप बढ्ने जोखिम छ ।
प्रकाशित समय : १३:२६ बजे


















