गृहपृष्ठ नौ महिनापछि अमेरिकी विमानवाहक जहाज ‘अब्राहम लिङ्कन’ थाइल्याण्डबाट प्रस्थान

नौ महिनापछि अमेरिकी विमानवाहक जहाज ‘अब्राहम लिङ्कन’ थाइल्याण्डबाट प्रस्थान

नौ महिनापछि अमेरिकी विमानवाहक जहाज ‘अब्राहम लिङ्कन’ थाइल्याण्डबाट प्रस्थान
नौ महिनासम्म समुद्रमा तैनाथ रहेपछि अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन थाइल्याण्डको पाँचदिने बन्दरगाह भ्रमण सकेर आइतबार प्रस्थान गरेको छ ।
करिब पाँच हजार अमेरिकी नौ सैनिकसहितको जहाज बुधबार बैङ्ककनजिकैको रिसोर्ट सहर पटायाबाट करिब आधा घण्टाको दूरीमा रहेको लाएम चाबाङ बन्दरगाह पुगेको थियो । मध्यपूर्वमा लामो समयको तैनाथीपछि नौसैनिकहरूलाई आराम तथा मनोरञ्जनका लागि थाइल्याण्ड ल्याइएको थियो ।
एएफपीका पत्रकारहरूले जहाज आइतबार बिहान करिब ११ः०० बजे (स्थानीय समय) लाएम चाबाङ बन्दरगाहबाट प्रस्थान गरेको देखेका थिए ।
नौसैनिकहरूको आगमनलाई ध्यानमा राख्दै पटायामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनीहरू आउनुअघि अधिकारीहरूले यौनकर्मीविरुद्ध कारबाहीसमेत गरेका थिए । यद्यपि, स्थानीय मेयरले उक्त कारबाहीलाई अमेरिकी नौसैनिकको भ्रमणसँग प्रत्यक्ष रूपमा जोड्न अस्वीकार गरेका छन ।
पटाया प्रहरी प्रमुख अनेक स्राथोङ्युका अनुसार पाँचदिने भ्रमणका क्रममा कुनै ठूलो अप्रिय घटना भएन । उनका अनुसार भ्रमणको पहिलो दिन अमेरिकी नौसैनिकहरूबीच भएको सामान्य विवादबाहेक कुनै ठूलो झगडा वा गिरफ्तारी भएको छैन ।
यसअघि बिहीबार बिहान पटायाको प्रसिद्ध ‘वाकिङ स्ट्रिट’ नजिकै मदिरा सेवनपछि भएको विवादमा सङ्लग्न दुई अमेरिकी नौ सैनिकलाई जहाजमै फिर्ता पठाइएको थियो । प्रहरीले उक्त घटनालाई सामान्य झडपका रूपमा वर्णन गरेको थियो ।
पर्यटनको ‘लो सिजन’ चलिरहेका बेला अमेरिकी नौसैनिकहरूको आगमनले पटायाका व्यवसायीलाई राहत दिएको स्थानीय अधिकारीले बताएका छन् ।
पटायाका मेयर पोरामासे न्गाम्पिचेसका अनुसार अमेरिकी नौसैनिकहरूले भ्रमणका क्रममा करिब १० करोड थाई भाट (लगभग ३० लाख अमेरिकी डलर) खर्च गरेको अनुमान छ ।
नौ सैनिकहरूले किनमेल, पर्यटकीयस्थलको भ्रमण र अन्य मनोरञ्जनात्मक गतिविधिमा समय बिताएको उनले बताए । साथै, जहाजका लागि टुथपेस्टलगायत विभिन्न दैनिक उपभोग्य सामग्री बिक्रीबाट पनि स्थानीय व्यवसायीले आम्दानी गरेको उनले बताए ।
“उनीहरूले आफ्ना परिवारलाई सम्झिरहेका छन् र परिवारका लागि केही स्मृति चिन्ह किन्न चाहन्छन्”, मेयरले भने। ‘लिङ्कन’ को थाइल्याण्ड भ्रमण त्यस्तो समयमा भएको हो, जब जहाजभित्रका जीवनयापनका अवस्थाबारे प्रश्न उठेका थिए ।
गत महिना अमेरिकी डेमोक्र्याटिक सांसदहरूले जहाजमा खाद्यान्नको अभाव, बिग्रिएको प्लम्बिङ तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याको रिपोर्ट सार्वजनिक भएपछि अवस्थाबारे छानबिन गर्न माग गरेका थिए ।
मिडिया रिपोर्टहरूमा लामो तैनाथीका क्रममा केही समयमा नौसैनिकहरू टुथपेस्ट, डिओडोरन्ट र साबुनजस्ता आधारभूत सामग्रीको अभावमा समेत परेको उल्लेख गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जहाजभित्रको अवस्थासम्बन्धी चिन्तालाई अस्वीकार गरेका थिए ।
लिङ्कन लामो समय मध्यपूर्वमा तैनाथ रहे पनि पछिल्लो समय त्यहाँ यसको स्थान युएसएस जर्ज वासिङ्टन ले लिएको छ । थाइल्याण्डको पाँचदिने भ्रमणपछि लिङ्कन पुनः समुद्री तैनाथीतर्फ अघि बढेको छ ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु