गृहपृष्ठ सात सय घरमा विद्युत सुविधाको पहुँच

सात सय घरमा विद्युत सुविधाको पहुँच

सात सय घरमा विद्युत सुविधाको पहुँच

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।

नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०८२र ०८३ मा जिल्लाका विभिन्न ठाउँमा सात सय उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता धवलागिरि गाउँपालिकाको मल्कवाङ, खोरिया, लमसुङ, फलियागाउँ, मालिकाको महभिरमा विद्युत सुविधा विस्तार भएको जानकारी दिए ।

मल्कवाङका एक सय १०, खोरियामा ६०, लमसुङमा २५, महभिरमा एक सय २० र फलीयागाउँमा एक सय ५० वटा विद्युतको मिटर जडान भएको उहाँले जानकारी दिए। “धवलागिरीको लुलाङ र रघुगंगाको चिमखोलामा केन्द्रिय लाइन पुगेपनि लघुजलविद्युत परियोजनाको विद्युत उपभोग गरिरहेका उपभोक्ता मिटर लिन आएका छैनन,” उनले भने “फलियागाउँमा यसअघिनै विद्युतीकरण भएपनि लघुजलविद्युत परियोजना बन्द भएपछि उपभोक्ताले मिटर लगेका छन् ।”

घरायसी काम, बिद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम ब्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ । पछिल्लो वर्ष थपिएका सहित म्याग्दी बितरण केन्द्र अन्तरगत २४ हजार चार सय ९० विद्युतका ग्राहक पुगेका केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए । आर्थिक वर्ष २०८१र८२ मा आठ सय ७४, आर्थिक वर्ष २०८०र०८१ मा एक हजार चार सय ३८, २०७९र०८० मा एक हजार दुई सय ३८, २०७८र७९ मा सात सय ७० घरधुरीमा नयाँ लाईन जडान भएको प्राधिकरणको तथ्याङ्क छ ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत वितरण हुदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷०८१ देखि रु। २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।

गत आर्थिक वर्षमा म्याग्दी वितरण केन्द्र मार्फत एक करोड ८४ लाख ७३ हजार सात सय ७९ युनिट विद्युत खपत हुँदा ९९ करोड ८५ लाख ६९ हजार सात सय ४९ महशुल संकलन भएको छ । समयमा महशुल नबुझाउने ९८ जना ग्राहकको लाइन काटेर २५ लाख ६८ हजार तीन सय ३० वक्यौता असुल गरिएको छ । ६० दिनसम्म महशुल नतिर्नेको लाइन काट्ने र छ महिना सम्म महशुल नबुझाउनेलाई कालोसुचिमा राखिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित समय : ०६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु