गृहपृष्ठ इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा
इक्वेडरमा एल निनोका कारण आपत्काल घोषणा
इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च सतर्कता जारी गर्दै आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।
इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको हो । सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अन्य आपत्कालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् ।
एल निनोका कारण मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको समुद्री सतहको तापक्रम बढ्नुका साथै हावाको बहाव, वायुदबाब र वर्षाको ढाँचामा परिवर्तन आउने गर्छ । यसले माछा मार्ने गतिविधि र चराहरूको बसाइँसराइमा समेत असर पार्न सक्छ ।
इक्वेडरले देशको पूर्वी क्षेत्रमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डढेलोको जोखिम बढ्ने अनुमान गरेको छ । यस वर्षको एल निनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इन्डोनेसियामा डढेलोको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।
वैज्ञानिकहरूका अनुसार हालको एल निनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ मा विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।
पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एल निनोका कारण आपत्काल घोषणा गरिसकेका छन् । पेरुले पनि एल निनोका कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई ध्यानमा राख्दै आफ्ना करिब एकतिहाइ सहरमा आपत्काल घोषणा गरेको छ ।
प्रकाशित समय : १३:५६ बजे


















