गृहपृष्ठ सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार
सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार
भक्तपुर । सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ जम्मा गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको २१५औँ कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख थापाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु-याउन नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बताए ।
उनले राष्ट्रिय विपद्को यस घडीमा मानवीय दायित्व बहन गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्न नागरिक समाज, निजी क्षेत्र तथा सङ्घसंस्थालाई आग्रह गरे ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार राहत कोषमा नगर प्रमुखको तर्फबाट ३५ हजार, उपप्रमुखको तर्फबाट १५ हजार, वडाध्यक्षहरूको तर्फबाट प्रतिव्यक्ति १० हजारका दरले एक लाख, कार्यपालिका सदस्यहरूको तर्फबाट प्रतिव्यक्ति छ हजार तथा वडा सदस्यहरूको तर्फबाट प्रतिव्यक्ति दुई हजार ५०० का दरले रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
प्रकाशित समय : ११:३९ बजे


















