गृहपृष्ठ जनप्रतिनिधि र कर्मचारीद्वारा आठ लाख बढी सहयोग
जनप्रतिनिधि र कर्मचारीद्वारा आठ लाख बढी सहयोग
तनहुँ । रसुवाको भोटेकोशीसहितका क्षेत्रमा गएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आठ लाख २३ हजार ९१७ सहयोग गर्ने भएका छन् ।
म्याग्दे गाउँपालिकाको कार्यपालिकाको आज बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो पाँच दिनको तलब बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
गाउँपालिकाका लेखा अधिकृत शिवजी थापाका अनुसार जनप्रतिनिधि तथा कर्मचारीको पाँच दिनको तलबबाट सङ्कलित आठ लाख २३ हजार ९१७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । यसअघि गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार कोषमा पालिकाका तर्फबाट थप पाँच लाख सहयोग गर्ने निर्णय भइसकेको छ ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । बाढीेबाट प्रभावित परिवारको पीडामा साथ दिन गाउँपालिकाले आफ्नो सामथ्र्यअनुसार सहयोग गर्न स्थानीय नागरिकलाई समेत अपिल गरेको छ ।
प्रकाशित समय : १८:१७ बजे


















