गृहपृष्ठ सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्माकुमारी अर्यालले बारामा बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनाका दोषीलाई शीघ्र पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन ।
प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उनले त्यस घटनाको अनुसन्धानमा रहेको सुरक्षा निकायले शीघ्र अनुसन्धान पूरा गरी दोषीको पहिचान गर्नुपर्ने आवश्यकता औँल्याइन ।
सांसद अर्यालले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना दोहोरिन नदिन गम्भीर अध्ययन र अनुसन्धान गराउन सरकारको ध्यानाकर्षण गराइन।
“यस्ता खालका घटनामा ठीक ढङ्गले कारबाही गरिएन भने यो प्रवृत्ति मौलाएर जान्छ,” सांसद अर्यालले भनिन । पछिल्ला दिनमा नाबालिकामाथि हुने हिंसाका घटना बढिरहेकोप्रति चिन्ता गर्दै उनले घटनापछि अनुसन्धान होइन, दीर्घकालीन रुपमा यस्ता घटना दोहोरिन नदिन अध्ययन र अनुसन्धानमा आधारित कार्ययोजना बनाइनुपर्नेमा जोड दिइन ।
जनताका दैनिक समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै सांसद अर्यालले ग्यास, रासायनिक मल र राहदानीका लागि नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराइन ।
ग्यास नपाएर उपभोक्ता लामो समय लाइनमा बस्नु परेको तथा किसानले मलका लागि भौतारिन परेको बताउँदै उनले जनताका आधारभूत समस्या समाधानमा सरकारको प्रभावकारिता देखिनुपर्नेमा जोड दिइन ।
सांसद अर्यालले प्रविधिको प्रयोगलाई विकृत रूपमा गरिँदा समाजमा पारिवारिक तथा सामाजिक समस्या बढिरहेको बताइन । सामाजिक सञ्जालका कारण बालबालिकाको सिर्जनशीलता, मौलिकता र सामाजिक व्यवहारमा नकारात्मक असर परेको उनको भनाइ थियो ।
सांसद अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक हुने पारिवारिक विवाद, आपत्तिजनक सामग्री तथा बालबालिकालाई लक्षित सामग्रीका कारण कतिपय परिवारमा तनाब र विघटनको अवस्था सिर्जना भएका उल्लेख गरिन ।
सांसद अर्यालले विकसित मुलुकले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेरसम्बन्धी सीमा तथा विभिन्न मापदण्ड लागू गरिरहेको उल्लेख गर्दै नेपालमा यस विषयमा ढिलाइ गर्न नहुने बताइन ।
सांसद अर्यालले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्नु सकारात्मक भएको बताउँदै यसको विस्तारका लागि सरकारले सहुलियतका कार्यक्रम ल्याउन सुझाव दिइन । विद्युतीय सवारीको प्रयोगले पेट्रोलियम पदार्थमा हुने खर्च घटाउने, वातावरणीय प्रदूषण नियन्त्रण गर्ने र विदेश जाने पुँजी स्वदेशमै राख्न सहयोग पुग्ने बताउँदै उनले सहरमा मात्र नभई ठूला यात्रुवाहक बसमा समेत विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकता दिनु सरकारको ध्यानाकर्षण गराइन ।
प्रकाशित समय : १६:५७ बजे


















