गृहपृष्ठ नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड
नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा बीवाईडीले आफ्ना अपग्रेडेड एट्टो सिरिजहरु प्रदर्शनीमा राखेको छ । एट्टो १, एट्टो २ र एट्टो ३ प्रदर्शनीमा छन् ।
एक्स्पोको अवसरमा बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनले तीनवटै मोडलमा नयाँ तथा अपग्रेडेड फिचर थप गरिएको जानकारी दिए । उनका अनुसार एट्टो १ मा ३६० डिग्री क्यामेरा थप गरिएको छ भने एट्टो २ मा नयाँ ‘इसेन्सियल’ भेरियन्ट र एट्टो ३ मा फेसलिफ्ट भर्सन ल्याइएको छ।
‘हाम्रो नयाँ अपग्रेडेड गाडीहरू लन्च गरेका हौं। एट्टो १ मा ३६० डिग्री क्यामेरा एड भएर आएको छ । एट्टो २ मा नयाँ इसेन्सियल भेरियन्ट लन्च भएको छ र एट्टो ३ मा नयाँ फेसलिफ्ट भर्सन आएको छ,’ उनले भने ।
महर्जनका अनुसार तीनवटै गाडी बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० मा आधारित छन्। तीनवटै मोडलमा सुरक्षा तथा सुविधा केन्द्रित विभिन्न फिचरहरू उपलब्ध रहेको उनले बताए।
एट्टो १ को नयाँ अपग्रेडमा ३६० डिग्री क्यामेरासँगै वायरलेस चार्जर र अटोमेटिक फोल्डिङ लुकिङ ग्लास थप गरिएको छ। यी फिचर अघिल्लो भेरियन्टमा उपलब्ध थिएनन्।
‘पहिला एट्टो १ मा ३६० डिग्री क्यामेरा आउँदैनथ्यो। अहिले ३६० डिग्री क्यामेरा आएको छ। वायरलेस चार्जर र लुकिङ ग्लासमा अटोमेटिक फोल्डिङको फिचर पनि थप भएको छ,’ उनले भने ।
एट्टो २ मा भने कम ब्याट्री क्षमताको नयाँ इसेन्सियल भेरियन्ट थप गरिएको छ। एट्टो ३ मा नयाँ फेसलिफ्ट डिजाइनसहितको मोडल प्रदर्शनीमा राखिएको महर्जनले जानकारी दिए।
यस्तो छ बीवाईडी एट्टोको मूल्य
बीवाईडीका अनुसार एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ। साथै एट्टो १ प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
यस्तै, एट्टो २ इसेन्सियल मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यसैगरी, एट्टो ३ एडभान्स मूल्य ६२ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने एट्टो ३ सुपेरियर भेरियन्ट मूल्य ७८ लाख रुपैयाँ रहेको साइमेक्स इन्क कम्पनीले जनाएको छ।
नेपाली सडक सुहाउँदो गाडी भएको दाबी
महर्जनले एट्टो १ विशेषगरी नेपालको सडकका लागि उपयुक्त रहेको दाबी गरे । सानो आकार, छोटो ह्विलबेस र १७५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण सामान्य ग्राभेल तथा केही अफरोड सडकमा समेत सहज हुने उनको भनाइ छ।
नेपालमा विद्युतीय सवारीप्रति ग्राहकको आकर्षण बढ्दै गएको महर्जनले बताए । विद्युतीय सवारीको सञ्चालन खर्च आन्तरिक दहन इन्जिन (आईसीई) भएका सवारीको तुलनामा कम हुने भएकाले ग्राहकले यसलाई रुचाएको उनको भनाइ छ।
एक्स्पोमा विशेष अफर
बीवाईडीले एक्स्पोको अवसरमा ग्राहकका लागि विभिन्न सुविधा उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार ग्राहकले एक वर्षको सडक कर, अटो प्लस इन्स्योरेन्स, निःशुल्क एसेसोरिज र एक वर्षको बीवाईडी एप सुविधा पाउनेछन्।
एक्स्पोमा बीवाईडीको स्टल हल नम्बर ५, मुख्य प्रवेशद्वारबाट भित्र प्रवेश गर्नेबित्तिकैको स्थानमा रहेको छ । ग्राहकले एक्स्पोस्थलमै गाडी हेर्न तथा अनलाइनमार्फत समेत बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
देशभर २० बढी शोरुम र १३ बढी सर्भिस सेन्टर
बीवाईडीले नेपालभर २० भन्दा बढी शोरुम तथा १३ भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा रहेको जनाएको छ। थप चारवटा सर्भिस सेन्टर निर्माणको क्रममा रहेको महर्जनले बताए।
कम्पनीले उपत्यकाबाहिर समेत ग्राहकलाई सेवा उपलब्ध गराउन रोडसाइड असिस्टेन्सको व्यवस्था गरेको उनको भनाइ छ।
साउन ३१ गतेसम्म सञ्चालन हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५१ वटा स्टलमा ५५ भन्दा बढी सवारीसाधन प्रदर्शनीमा राखिएका छन्।
एक्स्पोमा विभिन्न अटोमोबाइल कम्पनी तथा डिलरले नयाँ प्रविधि र पछिल्ला मोडलका विद्युतीय तथा अन्य सवारीसाधन प्रदर्शन गरिरहेका छन्।
प्रकाशित समय : १८:०६ बजे


















