गृहपृष्ठ स्वास्थ्य बीमा बोर्डले गर्यो २५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी
स्वास्थ्य बीमा बोर्डले गर्यो २५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
बोर्डका अनुसार उक्त रकममा अघिल्लो आर्थिक वर्षका बाँकी दाबी तथा चालु आर्थिक वर्षको पुस मसान्तसम्म स्वीकृत भएका दाबी समेटिएका छन्। यसअघि असोज, कात्तिक र मंसिरसम्म प्राप्त तथा स्वीकृत दाबीको रकम निकासा गरिसकेको बोर्डले जनाएको छ।
पछिल्लो चरणमा पुस महिनासम्म स्वीकृत भएका दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा निकासा गरिएको बोर्डले जनाएको छ।
यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस मसान्तसम्म स्वीकृत भएका सबै दाबीको भुक्तानी सम्पन्न भएको बोर्डको भनाइ छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई समयमै दाबी भुक्तानी गर्ने नीति अवलम्बन गर्दै आएको जनाएको छ। दाबी भुक्तानी प्रक्रियालाई नियमित, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुधारलाई निरन्तरता दिइएको बोर्डले उल्लेख गरेको छ।
समयमै दाबी भुक्तानी हुँदा सेवा प्रदायक स्वास्थ्य संस्थाको वित्तीय व्यवस्थापन सहज हुने तथा स्वास्थ्य बीमा सेवाप्रति सेवाग्राहीको विश्वास थप सुदृढ हुने बोर्डको अपेक्षा छ।
प्रकाशित समय : १२:२४ बजे


















