गृहपृष्ठ तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह
तनहुँ ‘बर्डफ्लु’ को जोखिममा : सतर्कता अपनाउन आग्रह
दमौली । जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पन्छी तथा पन्छीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक, पन्छी व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविनसन अधिकारीले अनुरोध गरेको हो ।
अण्डा राख्ने पुराना क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका सवारीसाधनलाई निसङ्क्रमण गर्न, कागलगायत जङ्गली पन्छीसँग घरपालुवा पन्छी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ढुवानी गर्न, अन्य सङ्क्रामक रोगविरुद्ध नियमित खोप लगाउन तथा सङ्क्रमण पुष्टि भएमा मरेका पन्छीलाई तत्काल गहिरो खाडलमा पुरेर फार्मलाई निसङ्क्रमण गर्न र प्राविधिकको सल्लाहअनुसार आवश्यक रोग नियन्त्रणका उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ ।
प्रकाशित समय : १३:०८ बजे



















