गृहपृष्ठ नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, टिक्दैन : शंकर पोखरेल
नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, टिक्दैन : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक सामाजिक असन्तोषको परिणाम भएको बताएका छन् । उनले नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको भए पनि लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा बनेका शक्तिहरू दीर्घकाल टिक्न नसक्ने दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आए पनि सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तोष बढेको बताएका छन् ।
उनले जीवनस्तर र आम्दानीबीचको असन्तुलनले समाजमा निराशा पैदा गरेको उल्लेख गर्दै उपभोग बढे पनि त्यसलाई धान्ने आय नबढ्दा भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय र वैदेशिक पलायन बढेको बताएका छन् ।
पोखरेलका अनुसार राज्यले नागरिकका यी समस्यालाई समयमै सम्बोधन गर्न नसक्दा पुराना राजनीतिक शक्तिप्रति असन्तोष बढेको हो । उनले आम निर्वाचन २०८२ मा मूलधारका दलहरूले देशभक्ति, विकास र सामाजिक सुरक्षाका विषय उठाए पनि मतदाताको अपेक्षा पूरा गर्न नसक्दा वैकल्पिक शक्तिहरूले समर्थन पाएको विश्लेषण गरेका छन् ।
उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीका मुद्दालाई केन्द्रमा राखेर नयाँ शक्तिहरूले जनमत आकर्षित गरेको बताए । सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले नयाँ शक्तिको पक्षमा धारणा निर्माण गर्न सहयोग पुगेको र पुराना दलहरूले त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकेको उनको भनाइ छ ।
महासचिव पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा भूराजनीतिक प्रभावसमेत रहेको दाबी गरेका छन् । उनले पुराना दलविरुद्ध र नयाँ शक्तिको पक्षमा जनमत निर्माण गर्न बाह्य चलखेल भएको आरोप लगाए ।
जेन्जी अभियानका नाममा भएका प्रदर्शनहरूलाई भिडन्तमा रूपान्तरण गरी जनआक्रोश बढाइएको दाबी गर्दै उनले भदौ २३ र २४ गतेका घटनापछि भएको सत्ता परिवर्तनमा बाह्य प्रभाव रहेको उल्लेख गरेका छन् ।
पोखरेलले वर्तमान सरकारले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट समस्या समाधान गर्नुभन्दा स्वेच्छाचारी र अधिनायकवादी शैली अपनाउन खोजेको आरोप लगाए । लोकतान्त्रिकआन्दोलनबाट परिपक्व बनेको नेपाली समाजले यस्तो अभ्यास लामो समय स्वीकार नगर्ने उनको भनाइ छ ।
प्रकाशित समय : ०९:२० बजे



















