गृहपृष्ठ नेपाल इन्जिनियरिङ कलेजको प्रवेश परीक्षा बिहीबार, आजसम्म आवेदन दिन सकिने
नेपाल इन्जिनियरिङ कलेजको प्रवेश परीक्षा बिहीबार, आजसम्म आवेदन दिन सकिने
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले शैक्षिक सत्र २०८३ का लागि स्नातक तहको पहिलो प्रवेश परीक्षा बिहीबार सञ्चालन गर्ने भएको छ। प्रवेश परीक्षाको आवेदन आजसम्म अनलाइनमार्फत दिन सकिने कलेजले जनाएको छ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा आर्किटेक्चर र इन्जिनियरिङअन्तर्गत सात कार्यक्रमका लागि प्रवेश परीक्षा सञ्चालन हुन लागेको हो। परीक्षा बिहान १०:३० बजे कलेज परिसरमा हुनेछ।
कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार प्रवेश परीक्षाका लागि हालसम्म करिब ७ सय विद्यार्थीले आवेदन दिएका छन्। अनलाइन आवेदन जारी रहेकाले करिब ८ सय विद्यार्थी सहभागी हुने अनुमान गरिएको उनले बताए।
कलेजमा आर्किटेक्चरमा ४८, सिभिल इन्जिनियरिङमा १४४, सिभिल एन्ड रुरल इन्जिनियरिङमा ४०, कम्प्युटर इन्जिनियरिङमा ९६, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ४८, इन्फरमेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा ९६ तथा डिप्लोमा होल्डरका लागि सिभिल इन्जिनियरिङमा ४८ सिट छन्।
प्रवेश परीक्षाका लागि कलेजको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कलेजले इन्जिनियरिङ शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले शुल्क तुलनात्मक रूपमा सर्वसुलभ राखिएको जनाएको छ। हरेक वर्ष करिब १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराइने कलेजको दाबी छ।
प्रवेश परीक्षा र प्रत्येक सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थीका साथै प्रादेशिक, स्थानीय तह र आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पनि विभिन्न छात्रवृत्ति उपलब्ध गराइने व्यवस्था रहेको कलेजले जनाएको छ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजमा १०५ भन्दा बढी पूर्णकालीन शिक्षक कार्यरत रहेको र गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको बताए।
प्रकाशित समय : १६:०७ बजे



















