global ime bank Long Banner Ad

गृहपृष्ठ साना किसान लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड

साना किसान लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड

साना किसान लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्टले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वास्तविक किसानको बीचमा पुगेर प्रभावकारी रूपमा काम गरिरहेको संस्थाका रूपमा साना किसान विकास लघुवित्तले आफूलाई स्थापित गरेको बताउँदै यसको क्षमता र प्रभावलाई अझ विस्तार गर्न विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

उपाध्यक्ष भट्टले ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि विस्तार, गरिबी न्यूनीकरण तथा साना किसानको आर्थिक सशक्तीकरणमा संस्थाले महत्वपूर्ण योगदान पु-याएको उल्लेख गर्दै साना किसानको उत्थानबाट मात्रै देशमा दिगो आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने बताए । उनले सरकारले यस दिशामा विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै साना किसानलाई निर्धक्क भएर उत्पादन र उद्यममा लाग्न आग्रह गरे ।

उनका अनुसार वर्तमान सरकार सरकारी, निजी र सहकारी क्षेत्रबीच सहकार्यलाई सुदृढ बनाउँदै संस्थागत दिगोपन र आर्थिक सुदृढीकरणका कार्यक्रम अघि बढाइरहेको छ । यसै सन्दर्भमा सरकार सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अगाडि बढिरहेको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सरकारका आर्थिक तथा सामाजिक रूपान्तरणका अभियानमा साना किसान अभियान निरन्तर सहकार्य गर्दै आएको बताए ।आगामी दिनमा पनि अभियानमा आबद्ध संस्था तथा सदस्यहरू सरकारका विकास कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने उनको भनाइ थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले संस्थाको आर्थिक अवस्था, व्यवसाय विस्तार तथा भावी योजनाबारे जानकारी गराएका थिए ।

प्रकाशित समय : २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु