गृहपृष्ठ गोलबजार–७ मा ‘टीबी फ्री अभियान’ : ७५ जनाको निःशुल्क एक्स–रे परीक्षण, ४ जना शंकास्पद क्षयरोगी पहिचान
गोलबजार–७ मा ‘टीबी फ्री अभियान’ : ७५ जनाको निःशुल्क एक्स–रे परीक्षण, ४ जना शंकास्पद क्षयरोगी पहिचान
सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ मा क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले ‘टीबी फ्री अभियान’ अन्तर्गत शंकास्पद क्षयरोगी खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।
चन्दलालपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित एक्स–रे प्रविधिमार्फत स्थानीयवासीको क्षयरोग परीक्षण गरिएको थियो।
स्वास्थ्य चौकीकी इन्चार्ज रीता कुमारी सिंहका अनुसार कार्यक्रममा ७५ जनाले निःशुल्क एक्स–रेसहित स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणका क्रममा ४ जना क्षयरोगका शंकास्पद बिरामी पहिचान भएका छन्।
इन्चार्ज सिंहले शंकास्पद देखिएका व्यक्तिको थप प्रयोगशाला परीक्षण (ल्याब परीक्षण)को प्रतिवेदन आएपछि आवश्यक स्वास्थ्य मापदण्डअनुसार उपचार प्रक्रिया अघि बढाइने जानकारी दिइन्। नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क क्षयरोग उपचार सेवाअन्तर्गत उनीहरूको उपचार गरिने उनले बताइन्।
यो कार्यक्रम गोलबजार नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को नगरस्तरीय योजनाअन्तर्गत सञ्चालन गरिएको हो। वडा नम्बर–७ ले क्षयरोग निवारण कार्यक्रमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष हरिशरण ठाकुरले जानकारी दिए।
वडा अध्यक्ष ठाकुरले क्षयरोगलाई समयमै पहिचान गरी उपचारको पहुँचमा ल्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताए। उनले समुदायस्तरमै स्वास्थ्य सेवा पु¥याउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गर्दै क्षयरोगका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन सबैलाई आग्रह गरे।
स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले समुदायमा क्षयरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान गरी संक्रमण नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। स्थानीयले गोलबजार नगरपालिका–७ को यो अभियानलाई स्वास्थ्य सेवा जनताको घरदैलोमै पु¥याउने प्रभावकारी पहलका रूपमा लिएका छन्।
प्रकाशित समय : १८:३० बजे



















