global ime bank Long Banner Ad

गृहपृष्ठ किसानलाई आधुनिकतासँग जोड्ने अनुदानमा यान्त्रिक हलो

किसानलाई आधुनिकतासँग जोड्ने अनुदानमा यान्त्रिक हलो

किसानलाई आधुनिकतासँग जोड्ने अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाले किसानलाई अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । गाउँघरमा हलगोरु पाल्न छोडेपछि खेतबारी बाँझो बन्दै गएपछि खेतीयोग्य जमिनमा उत्पादन गर्न किसानलाई अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो ।

पम्परागत खेतीपाती गर्दै आएका किसानलाई आधुनिकतासँग जोड्ने र उत्पादन बढाउने उद्देश्यले यान्त्रिक हलो उपलब्ध गराएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । चालु आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको रु १० लाख र किसानबाट रु १० लाख गरी कूल रु २० लाख लागतमा ४२ यान्त्रिक हालो खरिद गरी वितरण गरिएको उनले जानकारी दिए ।

चालु आवमा नगरपालिकाले ४२ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको उपप्रमुख शर्माले बताए । नगरपालिकाले किसानलाई प्रविधिसँग जोडेर खेतीपाती गर्न सहज बनाउनुका साथै उत्पादन वृद्धि गर्नका लागि विगतका वर्षदेखिनै सहुलियत दिँदै आएको उनले बताए । नगरपालिकाले अघिल्लो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

उपप्रमुख शर्माले भने “जैमिनी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ, हरेक वर्ष किसानलाई अनुदान दिनुका साथै उत्पादित वस्तुलाई बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । मल, बीउ र प्राविधिक तालिम पनि दिँदै आएका छौँ ।”

नगरपालिकाका कृषि शाखा प्रमुख सुवास सापकोटाले यस वर्ष वडा नं ६, ८, ९ र १० का किसानलाई यान्त्रिक हलो उपलब्ध गराएको जानकारी दिए । मिनिटेलरसँगै विद्युतीय मिल, थ्रेसर, सेन्सर उपकरणलगायत सामग्री उपलब्ध गराएको उनको भनाइ छ । वडा कार्यालयबाट छनोट भएका किसानले यस वर्ष कृषि उपकरण पाएको सापकोटाले जानकारी दिए ।

पछिल्लो समय गाउँमा बारी जोत्नका लागि हलगोरु पाइन छोडेपछि खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै गएको जैमिनी नगरपालिका(६ का किसान वीरबहादुर थापा मगरले बताउनुभयो । बारी जोत्नका लागि अहिले नगरपालिकाले आधुनिक हलो दिएपछि अब कुनै पनि बारी बाँझो नराख्ने बताए । यान्त्रिक हलोले बारी जोत्नका लागि सहज हुने हुँदा बाझिँदै गएका खेतबारीमा पनि उत्पादन गर्न सकिने थापाको भनाइ छ ।

प्रकाशित समय : ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु