global ime bank Long Banner Ad

गृहपृष्ठ ‘प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्न सामुहिक प्रयास आवश्यक’

‘प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्न सामुहिक प्रयास आवश्यक’

‘प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्न सामुहिक प्रयास आवश्यक’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्न सामुहिक प्रयास आवश्यक भएको बताएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३’ कार्यक्रममा मुख्यमन्त्री कँडेलले चालक तथा यात्रुको लापरवाहीका कारण दैनिक दुर्घटनाको सामना गर्नुपरेको बताए ।

मुख्यमन्त्री कँडेलले भने “सुविधा सम्पन्न मानिएको कर्णाली प्रदेशको राजधानी सुर्खेत सवारी दुर्घटनाका हिसाबले सबैभन्दा बढी जोखिममा छ । उपभोग गर्नुपर्ने अधिकार र पुरा गर्नुपर्ने कर्तव्य दुवैप्रति हरेक नागरिक सचेत हुनुपर्दछ । नियम पालन गर्ने परिपाटी कमजोर हुँदै जाँदा मानव समाजले जोखिमको सामना गर्नुपरेको छ । यसतर्फ सबै सजग हुनैपर्छ ।”

मुख्यमन्त्री कँडेलले कर्णालीमा ‘रेस्क्यू भ्यान’ व्यवस्थापनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि काम अगाडि बढाउने विश्वास दिलाउँदै कर्णाली राजमार्ग २४सै घण्टा सञ्चालनमा आउने गरी काम गर्न प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटलाई निर्देशन दिए ।

गोष्ठीमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्राफिक बत्तीका साथै नगर उज्यालो तथा फुटपाथ व्यवस्थित गर्ने कार्यमा नगरपालिकाले जोड दिएको बताए । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले इमान्दारलाई भर र बेइमानीलाई डर लाग्ने सिद्धान्तमा आधारित भएर काम गर्न सुझाए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले सरोकारवालालाई एकै ठाउँमा राखेर सतहमा देखिएका सबै समस्या समाधान गर्न र नागरिकदेखि उच्च तहमा रहनेलाई आफ्नो कर्तव्यप्रति बोध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु