गृहपृष्ठ बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै
बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकालाई कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई जल पर्यटनको गन्तव्यका रुपमा विकास गर्न विस्तृत प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यहाँस्थित पर्यटनस्थललाई आकर्षक गन्तव्यका रुपमा चिनाउन विस्तृत प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिए ।
उनले गाउँपालिकाको भौगोलिक बनावटले जिप लाइन सञ्चालनदेखि कुसुमदेखि अगैयासम्म करिव १२ किलोमिटर बोटिङ गरेर मनोरञ्जन लिन सकिने बताए ।
नेपालगन्ज र कोहलपुर बजार जानका लागि सडक सञ्जाल रहेको औल्याउँदै अध्यक्ष पौडेलले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरे ।
उनले निकुञ्जको ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउँदा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।
निकुञ्जको गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीकोसमेत व्यवस्था गरिएको छ ।
कोहलपुर, ओभरी र अगैया क्षेत्रको तीन नाकाबाट नेचरगाइडसहित निकुञ्ज प्रवेशद्वारसम्बन्धी गतिविधि भइरहेका छन् । त्यहाँबाट प्रवेश गर्ने पर्यटकले पर्या–पर्यटनको आनन्द लिन सक्छन् ।
प्रकाशित समय : १६:४० बजे



















