काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३/०८४ को बजेट सम्बन्धी नीति संवाद कार्यक्रमा बोल्दै उनले बजेट भनेको सरकारले कहाँबाट स्रोत जुटाउँछ, कहाँ खर्च गर्छ भन्दैगर्दा त्यसका लागि लगभग ७० प्रतिशत तय भइसक्ने जानकारी दिए । त्यसैले बजेट आउँछ सबै समाधान हुन्छ भन्ने सोच गलत भएको बताए ।

उनले भने,‘स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ । बजेटका सन्दर्भमा अलिकति अतिरञ्जना पनि भएको छ । देशमा दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ कि भन्ने अपेक्षा अलिक अव्यवहारिक पनि छ । सायद हामीले पनि सोही विषयलाई मलजल गरिरहेकै होलाऔं । बजेट आउँछ सबै समाधान हुन्छ भन्ने होइन् । सरकारले कहाँबाट स्रोत जुटाउँछ कहाँ खर्च गर्छ भन्ने कुरामा लगभग ७० प्रतिशत तय भइसकेको हुन्छ ।’

त्यस्तै मन्त्री वाग्लेले विगत तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा र संरचनाहरु नचलाएको अवस्थामा यसवर्ष भने त्यो प्रयत्न भएको बताए ।

यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न नसकिएको उनले स्वीकार गरे । समग्र करहरुको बोझ घटाउने चुनाव अघिको प्रतिबद्धता सरकारले पूरा गर्ने जमर्को गरेको उनको भनाई छ ।

‘तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा संरचनाहरु चलाएका थिएनौं । यसवर्ष प्रयत्न भएको छ । यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न सकिन्थ्यो होला । निर्वाचन अगाडि नै समग्र करहरुको बोझ घटाउँछौं भनेर हामीले बाचापत्रमा भनेका थियौं । त्यो बाचालाई न्याय गर्ने हिसाबले यसमा हात हालेको हौं ।’

त्यस्तै उनले पुन बजेटले मात्र सबै समाधान नगर्ने धारणा दोहोरर्याउँदै बजेटले रोपेका बिऊहरु र त्यसले गरेको केही रणनीतिक लगानीको जगहरुमा निजी क्षेत्रले अर्थतन्त्रलाई वृद्धि गर्ने धारणा राखे ।