गृहपृष्ठ जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ स्वास्थ्यमन्त्री मेहता
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ स्वास्थ्यमन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताइन ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले खानपानको सुनिश्चितामार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यन्वयनलाई उच्च प्राथमिकता राखिएको बताइन ।
यसका साथै खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यलाई तीव्रता दिइने शुभकामना उल्लेख गरिएको छ । खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मको सबै प्रक्रियामा स्वच्छता कामय राख्नु सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री मेहताले यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरुरी रहेको बताउदेै
उनले असल अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थ्यकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई कम गर्ने उल्लेख गरिन ।
मन्त्री मेहताले यस दिवसले खाद्य शृङ्खलामा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्तालगायत सबै सरोकारवालाई स्वच्छ खानपानको महत्त्व आत्मसात गर्न र आआफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिन ।
आज नेपालसहित विश्वभर ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार प्रत्येक वर्ष ६० करोड मानिसले दूषित खानाका कारण बिरामी पर्ने र चार लाख २० हजार मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ ।
प्रकाशित समय : ११:४३ बजे



















