गृहपृष्ठ दैलेखमा जिप दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते
दैलेखमा जिप दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते
दैलेख । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक जिप दैलेखमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो दैलेखको भैरबी गाउँपालिका–७ कालगौंडीमा सुप०१००१ च ४९६४ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकका अनुसार मृत्यु हुनेमा जिप चालक कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३५ वर्षीय कलबहादुर रोकाय, सोही ठाउँका ३९ वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका–६ की ६० वर्षीया पुल्तिसरा बिक रहेका छन्। मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ।
दुर्घटनामा घाइते भएका पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। सुर्खेत रेफर गरिएकामा शुभकालिका–४ की ४५ वर्षीया नैन सुनार र वडा नम्बर–६ का २७ वर्षीय सुमत बिक रहेका छन्। अन्य तीन जना घाइतेको भने जिल्ला अस्पताल दैलेखमै उपचार भइरहेको छ।
प्रकाशित समय : १७:४१ बजे



















