गृहपृष्ठ इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न, नवप्रवर्तन र दिगो भविष्यका समाधानमा युवाको प्रतिस्पर्धा
इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न, नवप्रवर्तन र दिगो भविष्यका समाधानमा युवाको प्रतिस्पर्धा
चितवन । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाद्वारा आयोजित ‘इसेवा ह्याकाथन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। जेठ १५ गतेदेखि सौराहामा सञ्चालन भएको आवासीय ह्याकाथन आइतबार सम्पन्न भएको हो।
नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ युवा सहभागी भएका थिए। कार्यक्रममा फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासम्बन्धी नवीन डिजिटल समाधान र प्रोटोटाइपहरू प्रस्तुत गरिएको थियो।
इसेवाले वातावरण तथा वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालसँगको सहकार्यमा ह्याकाथन आयोजना गरेको हो।
निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा आदित्य कुमार साह तेली र पूजा यादव सम्मिलित टोली ‘कन्फ्युजन म्याट्रिक्स’ प्रथम भएको छ। यस्तै, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपाने आबद्ध टोली ‘क्यास फ्लो’ दोस्रो तथा इन्द्रप्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सम्मिलित टोली ‘आर्याना’ तेस्रो भएको छ।
विजेता टोलीहरूले क्रमशः ३ लाख, २ लाख र १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
समापन समारोहमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले सहभागीहरूले प्रस्तुत गरेका सिर्जनशील तथा नवप्रवर्तनात्मक समाधानहरूको प्रशंसा गर्दै यस्ता अवधारणालाई आगामी दिनमा व्यवहारिक प्रयोगमा ल्याउने प्रयास गरिने बताए।
उनले युवाहरूका नवीन सोच, ऊर्जा र सिर्जनशीलताले सुरक्षित तथा सुदृढ फिनटेक इकोसिस्टम निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
इसेवाले नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रकाशित समय : १६:५१ बजे



















