global ime bank Long Banner Ad

गृहपृष्ठ समयअगावै योजना निर्माण

समयअगावै योजना निर्माण

समयअगावै योजना निर्माण

म्याग्दी । पूर्वाधार विकास कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२र०८३ मा यहाँ सञ्चालित सात वटा योजना समयअगावै निर्माण भएका छन् । इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका बाबजुत तीन वटा बहुवर्षीय र चार वटा सालबसाली योजना निर्धारित समयअगावै सम्पन्न भएका हुन् । असहज अवस्थामा पनि सरकारसँग गरेको सम्झौताअनुसार जिम्मेवारी पूरा गरे पनि भुक्तानी भने समयमै पाउन नसकिएको व्यवसायीले गुनासो गरेका छन् ।

विसं २०८१ जेठ २० गते मङ्गलादेवी सुवास कन्ट्रक्सनले रु १२ करोड ७६ लाख ३३ हजार ६४० मा ठेक्का सम्झौता गरेको बेनी–तोरीपानी हुँदै पाखापानी सडक गत फागुन महिनामै सम्पन्न भएको छ ।

यस योजनामार्फत भुतादैलादेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म एक दशमलव ९०० किलोमिटर दूरीमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र नेप्टेचौरदेखि तोरीपानीस्थित गलेश्वर मावि परिसरको थप दुई किलोमिटर दूरीमा सडक फराकिलो, ग्रेड, घुम्ती सुधार र अप्ठ्यारो ठाउँमा पाँच सय ५० मिटर दूरीमा ढलान र दुई दशमलव पाँच सय किलोमिटर दूरीमा ग्राभेल भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

विसं २०८२ असार असार १६ गते रु दुई करोड २३ लाख ४६ हजारमा बिबिपीएल बिएस डिएस धौलागिरिले ठेक्का सम्झौता गरेको गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना गत माघ महिनामै सम्पन्न भएको थियो । उक्त योजनाको म्याद विसं २०८३ असार १६ सम्म रहेको थियो । यस योजनामार्फत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हुँदै कोशेपानी खण्डमा तीन सय मिटर ढलान र एक हजार १०० मिटर लामो सडकलाई फराकिलो बनाउने, घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण गरिएको थियो ।

रु ३९ लाखको लागतमा आगामी असार ४ गते सम्पन्न गर्ने गरी विसं २०८२ असार ३ गते सोमरस निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको मालिका गाउँपालिका–५ र ६ जोड्ने साँवटा झोलुङ्गे पुल योजना लक्ष्यभन्दा छ महिनाअगावै सम्पन्न भएको छ । यहाँ म्याग्दी नदीमाथि ९६ मिटर लामो झोलुङ्गे पुल गत पुस महिनामै सम्पन्न भएको हो ।

विसं २०८१ जेठ २० गते रामसागर बिएस धौलागिरि जेभीसँग रु १६ करोड ३५ लाख ९१ हजार ९६ मा ठेक्का सम्झौता गरिएको दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति योजना सम्पन्न हुने चरणमा पुगेको छ । आगामी भदौ १३ सम्म म्याद रहेको उक्त योजनामार्फत धौलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ–भिनडाँडा खण्डको छ किलोमिटर दूरीमाकालोपत्रसहित स्तरोन्नति गर्न लागिएको हो ।

चालु आर्थिक वर्षमा रु ५०÷५० लाख बजेट विनियोजन भएका चार वटा सडक स्तरोन्नति योजना पनि लक्ष्यअघि नै सम्पन्न भएका पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिए ।
मङ्गला कन्ट्रक्सनले रु ४६ लाख २९ हजार १२४ मा माघ २ गते ठेक्का सम्झौता भएको चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी कुहँ सडक स्तरोन्नति र ओमेन ओस्कार निर्माण सेवाले ठेक्का पाएको गैराखेतदेखि मालिका मन्दिर र दरवाङ–लामेला–आल्काचौर सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न भएका हुन् ।

यसैगरी रुप्से बिल्डर्स प्रालिले ठेक्का पाएको ज्ञानप्रकाश माविदेखि कोट खलङ्गा हँुदै ठारा, घारखोला नेपाने र तिप्ल्याङ–बादुक सडक योजना पनि समयअघि नै सम्पन्न भएको कार्यालय प्रमुख बानियाँले बताउनुभयो । यी सालबसाली योजनाको ठेक्काको समय अवधि यही जेठ १५ गतेसम्म रहेको थियो ।

लक्ष्यअघि नै योजना सम्पन्न गरेका व्यवसायीलाई प्रोत्साहनका लागि गणतन्त्र दिवस–२०८३ को अवसरमा गत शुक्रबार बेनीमा कार्यालयको तर्फबाट सम्मानसमेत गरिएको छ ।
प्रदेश सरकारले बहुवर्षीय आयोजनाअन्तर्गत काम सम्पन्न भए पनि भुक्तानी नपाएकाले चाँडै भुक्तानीका लागि आग्रह गरिएको बेनी–पाखापानी सडक योजनाका निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताउनुभयो ।
कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ वटा योजनाका लागि रु ६२ करोड विनियोजन भएको थियो । क्रमागत १७ वटा योजनाका लागि ५२ करोड र नयाँ १५ वटा योजनाका लागि १० करोड बजेट प्राप्त भएको थियो ।
सङ्घीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष २३ करोड २२ लाख बजेट विनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटनबाहेक धेरैजसो बहुवर्षीय सडकमा बजेट अभाव भएको कार्यालयका प्रमुख बानियाँले बताए।

उनका अनुसार सालबसाली योजनाहरूको ठेक्का प्रतिस्पर्धाको क्रममा घटेको करिब डेढ करोड आन्तरिक रकमान्तर र थप रु आठ करोड ४५ लाख रकमान्तरका लागि मन्त्रालयमा सिफारिस गरिएको छ ।

म्याग्दीका प्रदेशसभा सदस्यद्धय रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले बजेट अभावमा सडकको निर्माण अवधि लम्बिने अवस्था देखिएको विषयमा प्रदेश सरकार र विभागीय मन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभएको छ । अपुग बजेट रकमान्तर गरेर काम गरेका व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग पहल गरिरहेको भण्डारीले जानकारी दिए।

गत पुसमा यहाँ आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजनाहरूमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु