काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री बनाउन एकीकृत डिजिटल प्रणालीको आवश्यकता रहेको बताएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘एकीकृत यातायात व्यवस्थापन प्रणाली’ सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी समारोहमा बोल्दै उनले परम्परागत रूपमा हातको इसाराबाट सञ्चालन हुँदै आएको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए ।
उनले ट्राफिक व्यवस्थापनलाई एकीकृत नियन्त्रण कक्ष (कन्ट्रोल रुम) मार्फत सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।
उनले भने, ‘काठमाडौंको ट्राफिक व्यवस्थापन लामो समयदेखि हातको संकेतमा आधारित रहँदै आएको छ । अब यसलाई कसरी अगाडि बढाउन सकिन्छ, डिजिटल प्रविधिमैत्री व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर र इन्ट्री ग्रेटिङ फ्रेममा एउटै कन्ट्रोल रुमबाट काम गर्नेगरी कसरी जाने भन्नेमा केन्द्रित छौं ।’
अधिकारीले गत भदौ २३–२४ गतेको आन्दोलनपछिको अवस्थालाई स्मरण गर्दै त्यसबेला भौतिक संरचना मात्र नभई सडक अनुशासन, ट्राफिक नियमको कार्यान्वयन तथा शान्ति–सुरक्षामा समेत असर परेको बताए । त्यसपछिको पुनःस्थापना र सुधारको क्रममा डिजिटल ट्राफिक प्रणालीलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।
उनले ‘फेसलेस ट्राफिक व्यवस्थापन’ को अवधारणालाई अगाडि बढाउँदै ट्राफिक प्रहरी र सेवाग्राहीबीचको प्रत्यक्ष सम्पर्क घटाउने, सम्भावित विवाद न्यूनीकरण गर्ने तथा पारदर्शिता बढाउने लक्ष्य रहेको बताए ।
उनले भने, ‘डिजिटल ट्राफिक सिस्टमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र फेसलेस ट्राफिक व्यवस्थालाई कसरी बनाउन सकिन्छ, व्यक्ति द्वन्द्धलाई कसरी व्यवस्था गर्न सकिन्छ र सवारी दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छलगायतका विषयलाई प्रमुख आवश्यक ठानेका छौं ।’
साथै, सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा स्मार्ट ट्राफिक व्यवस्थापनलाई आगामी प्राथमिकताका रूपमा अघि सारिएको उनले उल्लेख गरे ।



















