गृहपृष्ठ प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति (भिडियो सहित)
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति (भिडियो सहित)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने आशय व्यक्त गरेको भनाइप्रति विभिन्न दलका सांसदहरूले तीव्र आपत्ति जनाएका छन् ।
संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई दुःखद र खेदजनक भएको बताए।उनले भने, ‘संसारभरमा एउटा राष्ट्रप्रमुख यस्तो देखियो जसले हामीले अरुको सिमाना मिचेको छौँ भन्ने अभिव्यक्ति दिनुभयो । मिचेको हो कि होइन भन्नु कुरा सरकारसँग माग गर्छौँ । प्रधानमन्त्री बालेनले अरुको सिमाना हामीले मिचेको छौँ भन्नु दुःखदजनक छ, खेदजनक छ ।’राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा सम्बन्धी दाबीलाई कमजोर बनाएको जिकिर गरे ।
उनले भने, ‘हाम्रो मिचिएको भूमिहरूमाथि दाबी गर्दा यहाँले कमजोर सावित गर्ने नजिर स्थापना गरिदिनुभयो । हिजोको सरकारलाई गलत भन्थ्यौँ तर हिजोको सरकारले कहिल्यै सीमा मिचेको भनेको थिएन ।’यस्तै, नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पर्याप्त अध्ययन र तथ्यबिना नेपालले भारतको भूमि मिचेको निष्कर्षमा पुग्न नसकिने बताए।उनले नेपाल–भारत खुला र लामो सीमा भएका कारण कतिपय स्थानमा सीमांकन तथा व्यवस्थापनका विषयहरू हुनसक्ने बताए।
उनले भने, ‘नेपालले भारतको सीमा मिचेको कुरा अध्ययन नगरी भन्न सकिँदैन । त्यस्तो तथ्य मैंले बुझेको छैन । धेरै ठाउँमा जोडिएको भू–भाग भएको देश भएकाले एकअर्काका सीमाहरू व्यवस्थित गर्नुपर्ने वा यताबाट उता र उताबाट यता मिलाउनुपर्ने विषय हुन सक्छन् । यसमा दुवै पक्ष बसेर गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले कुन सेन्समा कसरी भन्नुभयो भन्ने कुरा पनि बुझ्नुपर्छ ।’त्यसैगरी नेकपा एमालेका सांसद गुरु बरालले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताए।उनले भने, ‘प्रधानमन्त्रीले दुई देशको सिमानाको विषयमा, नेपाल र भारतको बीचको सिमानाको विषयमा जे जवाफ दिनुभएको छ, यसले देशको शिर झुकेको छ । हामी नेपालीहरू गम्भीर भएका छौँ ।’नेपाल–भारत सीमा र विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भूमि भएको भन्दै उनले सरकारको दायित्व आफ्नो भूमिमाथिको अधिकार स्थापित गर्नु भएको बताए ।
‘नेपालको भूमि रक्षाको लागि नेपालीहरूले उठाइरहेका आवाजहरू र कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि नेपालको हुनुपर्छ र सरकारद्वारा आफ्नो भूमिमाथिको अधिकार स्थापना गरिनुपर्छ भन्दा नेपालले समेत भारतको भूमि मिचेको रहेछ, म प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्ने अभिव्यक्तिले सबै नेपालीको शिर झुकेको छ,’ उनले भने।

प्रकाशित समय : १८:०८ बजे



















