global ime bank Long Banner Ad

गृहपृष्ठ बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम

बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम

बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाले ‘प्राकृतिक स्वास्थ्य उपचार’ (नेचर वेलनेस थेरापी) कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले पछिल्लो समय तनाव, अस्वस्थ जीवनशैली तथा प्राकृतिक वातावरणबाट मानिस टाढिँदै गएको अवस्थालाई मध्यनजर गर्दै प्रकृतिसँग जोडेर स्वास्थ्योपचार सुरु गरेको जनाएको छ ।

प्रकृतिसँग जोडेर स्वास्थ्योपचार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए। अधिकारीको नेतृत्वमा विभिन्न वडाका वडाध्यक्ष एवं जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकार भएका निकायका प्रतिनिधिको सक्रिय सहभागितामा बेथानचोक(३ दमार नजिकको हरियाली जङ्गल क्षेत्रमा थेरापी अभ्यास कार्यक्रम आयोजना गरी प्राकृतिक स्वास्थ्य उपचार कार्यक्रमको औपचारिक सुरुवात गरिएको पालिकाले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत विभिन्न टोलीमा विभाजित सहभागीले जङ्गल पदयात्रा, ध्यान, श्वासप्रश्वास अभ्यास, चराचुरुङ्गीको आवाजसँग आत्मसात् हुने गतिविधि तथा प्राकृतिक वातावरणमा शान्तपूर्वक समय बिताउने अभ्यास सञ्चालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए।

प्राकृतिक सौन्दर्य, शान्त वातावरण र हरियाली क्षेत्रलाई स्वास्थ्य तथा पर्यटनसँग जोडेर अघि बढाउने गाउँपालिकाको योजनाअनुसार ‘प्राकृतिक स्वास्थ्य उपचार’ कार्यक्रम सुरु गरिएको उनले बताए । उनका अनुसार समययानुकूल निरन्तर रूपमा आयोजना गरिने उक्त कार्यक्रमले प्रकृतिमा केही समय बिताउँदा मानसिक शान्ति प्राप्त हुने, तनाव कम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिएको छ ।

कार्यक्रमअन्तर्गत सञ्चालन गरिने गतिविधिले गाउँपालिकाका प्राकृतिक सम्पदाको प्रचारप्रसार हुने, पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयआर्जन वृद्धि हुने, स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थप मद्दत पुग्ने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गरे ।

प्राकृतिक स्वास्थ्य उपचारका विशेषज्ञका अनुसार नेचर वेलनेस थेरापीले मानसिक तनाव कम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने, राम्रो निद्रा, शारीरिक ताजगी तथा भावनात्मक सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने गर्दछ ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु