global ime bank Long Banner Ad

गृहपृष्ठ माथिल्लो त्रिसूली-१ जलविद्युत्को ‘वेयरगेट’ सञ्चालन

माथिल्लो त्रिसूली-१ जलविद्युत्को ‘वेयरगेट’ सञ्चालन

माथिल्लो त्रिसूली-१ जलविद्युत्को ‘वेयरगेट’ सञ्चालन

काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली -१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट(ड्यामको गेट) उद्घाटन गरिएको छ ।

नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले आज रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत पार्कले गणतन्त्र कोरियाली सरकारले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको बताए । उनले कोरियाका तर्फबाट नेपालमा तीन वटा जलविद्युत् आयोजना निर्माण हुनुका साथै आवश्यक वित्तीय साझेदारी रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्यका प्रचुर सम्भावना रहेको उल्लेख गरे । यस परियोजनालाई नेपाल र कोरियाबीचको दीर्घकालीन ऊर्जा क्षेत्रमा भएको लगानीलाई एक ऐतिहासिक उदाहरणको रूपमा लिन सकिने उनको भनाइ छ ।

उद्घाटन समारोहमा ऊर्जा मन्त्रालयका अधिकारीहरू, कोरियाली दूतावासका कर्मचारी, परियोजनासम्बन्धी सरोकार भएका निकायका प्रतिनिधिलगायत स्थानीय बासिन्दाको उपस्थिति थियो । नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको यस जलविद्युत् परियोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस परियोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीको मिश्रित लगानी रहेको छ ।

नेपाल जल तथा ऊर्जा विकास कम्पनी प्राइभेट लिमिटेडद्वारा निर्माणाधीन यस आयोजनाको प्रमुख प्रायोजकहरू कोरिया साउथ इस्ट पावर कम्पनी र कोरिया ओभरसिज इन्फ्रास्ट्रक्चर एण्ड अर्बन डेभलपमेन्ट कर्पोरेशन गरी दुई कोरियाली कम्पनी छन् । यस आयोजना नेपालको जलविद्युत् क्षेत्रमा सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको र नदीको बहावमा आधारित परियोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न हुने तालिका रहेको जनाइएको छ ।

आयोजनामा ऋण प्रदान गर्ने प्रमुख अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूमा अन्तरराष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र कोरियाली एक्जिम बैंक रहेका छन् ।

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु