global ime bank Long Banner Ad

गृहपृष्ठ प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग स्थापना गरेको पाँच वर्ष भयो ।

करिब रु पाँच करोड लगानीमा स्थापना गरिएको उद्योग तत्कालीन १ नं प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैतल २१ गते तामझामका साथ उद्घाटन गरेका थिय ।

तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले विसं २०७६ असार–१ मा शिलान्यास गर्नुभएको उद्योगमा नेपाल सरकार, अर्थमन्त्रालयको विशेष अनुदानवापत रु तीन करोड ३२ लाख तथा नगरपालिकाको रु एक करोड ५६ लाख लगानी गरिएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि खुशी भएका थिए ।

प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ । पन्ध्र वडा रहेको यस नगरपालिकालाई अर्गानिक नगर बनाउँदै आन्तरिक आम्दानीको स्रोतको रूपमा विकास गर्ने उद्देश्यसहित स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग लामो समयदेखि अलपत्र बनेपछि नगरपालिकाका वर्तमान जनप्रतिनिधिको आलोचना भइरहेको छ ।

राज्यको लगानीमा स्थापना गरिएको दुईवटा उद्योग उद्घाटन गरेको पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा ल्याउने नगरपालिकाको कुनै योजना नभएपछि जिल्लावासीले अलपत्र उद्योगको तस्वीर सामाजिक सञ्जालमा राख्दै आलोचना गर्ने गरेका छन् । वर्तमान जनप्रतिनिधिले सामाजिक सञ्जाल तथा स्थानीयको आलोचना सुनुवाइ नगर्दा राज्यकोषको करिब रु पाँच करोड लगानी डुब्ने लगभग निश्चितजस्तै भएको छ ।

आफ्नो गाउँमा प्राङ्गारिक मल उद्योग तथा बायोग्याँस प्लान्ट स्थापना हुने भएपछि आफूले छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको स्थानीय गङ्गाबहादुर विश्वकर्माले बताए । “उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा डिलरमार्फत बिक्री तथा वितरण गर्ने लक्ष्य राखिएको थियो । उद्घाटन गरेको पाँच वर्ष बित्यो । अहिलेसम्म सञ्चालनमा ल्याउने वर्तमान जनप्रतिनिधिको कुनै तयारी छैन”, जिल्लाका अगुवा कृषकसमेत रहेका विश्वकर्माले भने “उद्योगमा राज्यको ठूलो लगानीमा फसेको छ । वर्तमान जनप्रतिनिधिले यसलाई तत्काल सञ्चालनमा नल्याएको खण्डमा त्यो लगानी खेर जानेवाला छ । उद्योगमा राखिएका धेरै औजार तथा सजावटका सामग्रीहरू काम नलाग्ने भइसकेका छन् ।”

उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो । तीन हजार ५०० घनमिटर क्षमताको अण्डरग्राउण्ड डुम (ट्याङ्की)मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको थियो ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी थियो । गाई÷भँैसीको आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्याँस प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसी पालनसमेत गरिएको थियो ।

सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले स्थापना गरेको उद्योगमा स्थानीय चार युवालाई पूर्णकालीन तथा २५ जनालाई अल्पकालीनरूपमा रोजगारीसमेत दिइएको थियो । लामो समयसम्म बिना काम जागिर खाएका ती कर्मचारी तथा गोठमा बाँधिएका भैँसी अहिले उद्योगमा छैनन् ।

करारमा नियुक्त गरिएका कर्मचारीका लागि कति रकम भुक्तानी दिइयो भन्ने यकिन तथ्याङ्क अहिले नगरपालिकासँग छैन । यस विषयमा बेलाबेला कुरा उठ्ने गरेको छ । तर, सम्बन्धित निकाय नै मौन रहने गरेकाले बाहिर आउन सकेको छैन ।

मलमूत्रका लागि रु दुई लाखमा खरिद गरिएका तीन भैँसीमध्ये एउटा मरेको र दुईवटा रु ९० हजारमा लिलाम गरिएको नगरपालिकाले जनाएको छ । यतिका ठूलो लगानी रहेको उद्योग सञ्चालनमा नआउनुमा तत्कालीन जनप्रतिनिधिको दीर्घकालीन योजना नहुनु पनि एउटा कारण भएको बताइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउने तयारीस्वरूप प्राङ्गारिक मल उद्योग स्थापना गरिएको तत्कालीन नगरप्रमुख रिजालले बताउनुभएको थियो । अघिल्लो स्थानीय सरकारले दीर्घकालीन कार्ययोजना नबनाइ विभिन्न संरचना निर्माण गरेकाले यस्तो अवस्था आएको वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईको दाबी छ ।

उद्योग परिसरमै निर्माण निर्माण गरिएका पोखरी र हाइटेक ग्रिन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रिन हाउस निर्माणमासमेत नगरपालिकाको ठूलो मात्रामा रकम खर्च भएको स्रोतको दाबी छ ।

प्राङ्गारिक मल उद्योगका लागि खरिद गरिएको एउटा सक्सन मेसिन, दुईवटा ट्याक्टर र एउटा गाडी भने नगरपालिकाले उपयोग गरिरहेको छ । बनेका संरचना व्यवस्थित गरेर सञ्चालन गर्न नसक्नुले वर्तमान जनप्रतिनिधिको कार्यक्षमताप्रति प्रश्नचिह्न खडा भएको नगरवासीको गुनासो छ ।

मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थका लागि भैँसी खरिद, उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि विभिन्न किसिमका फूलका बिरुवा तथा सजावटका सामग्रीमा पनि खर्च भएको छ । स्थापना गरिएका उद्योग सञ्चालन नगरी अलपत्र पर्नुमा राजनीतिक प्रतिशोध भएको स्थानीयको आरोप छ ।

प्रकाशित समय : १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु