काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘कल्पना’ बोलको गीतकाे प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् ।
गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सविनकै छ । बितिसकेको मायाको सम्झनालाई गीतले कैद गरेको छ । गीतले आफ्नो पुरानो मायालाई सम्झिएर नोस्टाल्जिक हुँदै विगतको वर्णन गरेको छ ।
पुराना सम्झनाहरूको पत्र कैलाउँदै सबिनले पबित्र सम्बन्ध प्रेमिकाले त्यागेर गए पनि आफूले त्यसलाई अझै उस्तै निश्चल र चोखो रूपमा लिइरहेको गीतका शब्दमार्फत बताएका छन् । पुरानै कल्पना र योजनालाई अझै पनि जिवितै राखेर त्यसकै यादमा भूलिरहेको बताउने गीतले आफ्नो मायालाई पछ्याइहेको कुरा गर्छ ।
अझै पनि आफ्नो मनलाई बुझेर निश्चल प्रेमीसँग फर्किन आग्रह गरेको गीतले समग्रमा चोखो प्रेम र त्यसलाई बुझ्न नसक्ने प्रेमीको कथा भन्ने प्रयास गरेको छ ।
प्रिमियरमा सबिनले आफ्नो गीत केबल लयबद्ध शब्द मात्र नभएर मनको भित्री तहका भावना भएको बताए । आफ्नो जिन्दगीको लय फेरिएपछि आफूले गीतका छोटा शब्द र वाक्यमार्फत आफ्नो पीडा, उदासिनता र फ्रस्टेसन पोख्ने गरेको प्रस्ट पारे ।
प्रिमियरमा म्युजिक भिडियोका मोडल सुजन जिम्बाले सबिन हौसला र प्रेरणाको स्रोत भएको बताए । उनको इच्छाशक्ति र सिर्जनशिलताकै कारण गायनमा सक्रिय बन्न सकेको बताए ।
‘कल्पना’को भिडियोका निर्देशक तथा कलाकारसमेत रहेका सम्राट अधिकारीले सबिनको कल्पनालाई आफूले भिडियोमार्फत पर्दामा उतार्ने प्रयास गरेको बताए ।
दिमेश श्रेष्ठले प्रोड्युश गरेको भिडियो कथा क्रिएसनले बनाएको हो । सुजन जिम्बा, सृष्टि सुब्बा र सम्राट अधिकारीको अभिनय गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो नुजा पिक्चर्सको प्रस्तुति हो ।