गृहपृष्ठ बैठकका विषय ‘अतिरञ्जित’ भएर बाहिर आए : उपमहासचिव भट्ट
बैठकका विषय ‘अतिरञ्जित’ भएर बाहिर आए : उपमहासचिव भट्ट
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा सहभागी नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । शनिबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले बैठकको प्रक्रिया र पछिल्लो समय बाहिर आएका विषयवस्तुबारे स्पष्ट पारेका छन् ।
उपमहासचिव भट्टले बैठकमा अधिकांश सचिवहरूले आफ्ना अनुभूति र अनुभवहरू राखेको र भोलि बाँकी रहेका सचिवहरूले पनि आफ्नो धारणा राखेपछि ११ वटा एजेन्डामा छलफल सुरु हुने जानकारी दिएका छन् ।
उनले भने,‘पाँच जना नै सचिवहरू बोल्नुभयो र आ–आफ्ना लागेका विषयवस्तुहरू राख्नुभयो र गहिरोसँग सबैले हिजोदेखि आजसम्ममा आफूलाई लागेका अनुभूतिहरू, अनुभवहरू सबै त्यहाँ राख्नुभएको छ । र भोलि फेरि बाँकी ४ जना सचिवहरूले कुरा राख्न बाँकी छ । उहाँहरूले राखिसकेपछि अनि हामी प्रस्तावित ११ वटा एजेन्डा जो प्रस्तुत छ, त्यसमा छलफलमा जान्छौँ र साढे ११ बजेबाट भोलि बैठक सुरु हुन्छ र बीचबीचमा अध्यक्षले यसो बैठकलाई दिशा निर्देशन पनि गर्नुभएको थियो ।’
बैठकमा उठेका विषयहरूलाई लिएर बाहिर आएका समाचारहरूप्रति उनले असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, ‘बैठकमा भएका चिजहरू अलि अतिरञ्जित पाराले बाहिर आएका छन् ।’
पार्टीभित्र विभिन्न प्रवृत्ति र विचार हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीको नीति र अनुशासनभित्रै राखेर सम्बोधन गर्नुपर्नेमा उनले जोड दिएका छन् । उपमहासचिव भट्टले थपे, ‘म जुन स्कुलिङबाट आएको छु, त्यसमा हरेक कुरा पार्टीको मुख्य लाइनभन्दा बाहिर बोल्नुहुन्न भन्ने लाग्छ । पार्टीको अनुशासन, विधि र पद्धतिमा बसेर आफ्ना कुरा कमिटीभित्रै राख्नुपर्छ।’
भोलि बैठकको अन्त्यपछि मात्रै पार्टीले गरेका निर्णयहरू सार्वजनिक गरिने उनले स्पष्ट पारेका छन् ।
प्रकाशित समय : २०:२४ बजे


















