global ime bank Long Banner Ad

गृहपृष्ठ माङ्सेबुङ पालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याउने

माङ्सेबुङ पालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याउने

माङ्सेबुङ पालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याउने

इलाम । इलामको माङ्सेबुङ गाउँपालिकाले आगामी जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको बहुभाषिक र स्थानीय स्वायत्तताको अधिकार प्रयोग गर्दै गाउँपालिकाले देशमै पहिलो पटक यो अभ्यास गर्न लागेको हो । गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी भाषिक कार्यान्वयनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

गत वैशाख ११ गते बसेको ६६औँ कार्यपालिका बैठकको निर्णयानुसार जेठ १२ गते एक विशेष समारोहका बीच लिम्बू भाषालाई कामकाजी भाषा घोषणा गरिने गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । माङ्सेबुङमा बहुसङ्ख्यक नागरिकले बोल्ने र किरात सिरिजङ्गा लिपिमा लेखिने लिम्बू भाषालाई सरकारी कामकाजको माध्यम बनाउन लागिएको हो ।

‘नेपालको संविधानले आत्मसात गरेको बहुभाषिक र बहुसाँस्कृतिक राष्ट्रको भावना, जनताको सार्वभौम अधिकारको मर्मअनुसार हामीले यो निर्णय गरेका हौँ,’ अध्यक्ष राईले भने ।

गाउँपालिकाले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गरी यो कदम चालेको जनाएको छ ।
भाषा कार्यान्वयनलाई व्यावहारिक र सहज बनाउन गाउँपालिकाले प्रशासनिक तयारी समेत चुस्त बनाएको छ । सेवाग्राही र कार्यालयबीच भाषिक सञ्चारमा बाधा नआओस् भन्नका लागि पाँचौँ तहको ‘भाषिक सहजकर्ता’ करारमा नियुक्त गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईका अनुसार गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) मै दरबन्दी समावेश गरी स्वीकृत गरेर सहजकर्ता नियुक्त गरिएको हो । ती सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादक (ट्रान्सलेटर) को काम गर्नेछन् ।

यसका लागि ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका, २०७५’ र प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधिको कानुनी आधार लिइएको छ । बाहुल्य समुदायको सम्मानका लागि नेपालमै पहिलो पटक यस्तो अभ्यास गरिएको अधिकृत राईको दाबी छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार माङ्सेबुङ गाउँपालिकाको कुल जनसङ्ख्या १६ हजार ८१० रहेको छ । जसमा सबैभन्दा बढी ४२ दशमलव ८३ प्रतिशत लिम्बू समुदायको बसोबास छ भने ३३ दशमलव ६ प्रतिशत राई समुदाय रहेका छन् ।

बहुसङ्ख्यक नागरिकको मातृभाषालाई सरकारी कामकाजमा समेट्ने माङ्सेबुङको यो निर्णयलाई नेपालको भाषिक आन्दोलन र सङ्घीयता कार्यान्वयनको मार्गमा एउटा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु