global ime bank Long Banner Ad

गृहपृष्ठ वनकरिया भाषा जोगाउन जुट्दै नयाँ पुस्ता

वनकरिया भाषा जोगाउन जुट्दै नयाँ पुस्ता

वनकरिया भाषा जोगाउन जुट्दै नयाँ पुस्ता

बागमती ‘हाम्रो आफ्नै भाषा थियो, आफ्नै संस्कृति थियो । तर जङ्गल छाडेर मानव बस्तीमा आएपछि ती सबै विस्तारै हराउन थाले ।” वनकरिया समुदायकी युवा अगुवा आरती वनकरियाको यो भनाइले एउटा समुदायको पीडा मात्र होइन, अस्तित्व जोगाउने सङ्घर्ष पनि सुनाउँछ ।

कुनै समय चुरे क्षेत्रका जङ्गलमा फिरन्ते जीवन बिताउने वनकरिया समुदाय अहिले मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित एउटा सानो बस्तीमा बसोबास गरिरहेको छ । जङ्गलसँगै उहाँहरूको जीवनशैली फेरियो तर सबैभन्दा ठूलो असर उहाँहरूको भाषा र संस्कृतिमा प¥यो । नयाँ पुस्ताले मातृभाषा बोल्न छाड्दै गएपछि समुदायले आफ्नो पहिचान नै सङ्कटमा परेको महसुस गर्न थालेको छ ।

लोपोन्मुख वनकरिया समुदाय आफैँ आफ्नो भाषा जोगाउने अभियानमा जुटेको छ । आरती वनकरिया र उनका साथीहरूले आफ्ना पुर्खाको भाषा, संस्कृति र इतिहासको अध्ययन सुरु गरेका छन् । हरूका अनुसार भाषा हराउनु भनेको समुदायको पहिचान हराउनु हो । “हाम्रा पूर्वजहरु जङ्गलमा बस्दा हाम्रो आफ्नो छुट्टै भाषा थियो तर जङ्गलबाट जब मानवबस्तीमा सरेपछि हाम्रो भाषा र संस्कृति नै लोप हुन थाल्यो”, वनकरिया भाषाबारे अध्ययन गरेका सोही बस्तीका अगुवा आरती वनकरियाले भने “आफ्नो भाषा र संस्कृतिको संरक्षण हामीले नै गर्नुपर्छ भनेर अध्ययन सुरु गरेका छौँ ।”

वनकरिया समुदायको भाषा अध्ययनका लागि भाषा आयोगबाट पनि सहयोग भइरहेको छ । “वनकरिया समुदायको आफ्नै भाषा भए पनि मानवबस्तीमा सरेपछि हाम्रो समुदायका सबै वनकरिया भाषा बोल्न छाडिसक्नुभएको छ”, आरती वनकरियाले भन्नुभयो, “भाषा लोप हुदाँ पहिचान र संस्कृति नै हराउँदै जान्छ, त्यसैले हामी हाम्रो भाषाको अस्तित्व लोप हुन नदिन जुटेका छौंँ, भाषाको बारेमा अध्ययन गरिरहेका छौँ ।” भाषाको अध्ययनका लागि हाम्रो समुदायको उत्पतिदेखि अहिलेसम्मको अवस्था र हाम्रो भाषाका शब्दहरु सङ्कलन गरेर पाठ्यसामग्री प्रकाशनका लागि भाषा आयोगमा पठाएका छौँ, उनको कथन छ ।

कुनैबेला पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा फिरन्ते जातको रुपमा चिनिने लोपोन्मुख वनकरिया जातिलाई सरकारले २०६२ सालमा जङ्गली जीवनबाट मानव वस्तीमा सारेको थियो । जिल्ला वन कार्यालय मकवानपुरले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर क्षेत्रफलमा रहेको उक्त बस्तीमा २४ घरपरिवार वनकरिया समुदायको बसोबास छन् । त्यहीँ ठाउँमा ती जातिका व्यक्तिहरु करिब २० वर्षदेखि बन्दै आएका छन् । विसं २०७८ को जनगणनाअनुसार नेपालमा वनकरिया समुदायको जनसङ्ख्या केबल
१८० छ । त्यसमध्ये मातृभाषा बोल्नेको सङ्ख्या ८६ मात्र रहेको छ ।

पहिले जङ्गलमा घुमन्ते जीवन बिताउने वनकरिया अहिले खेतीपाती, पशुपालन र मजदुरी गरेर जीवन चलाइरहेका छन् । परिवर्तनको अर्को सकारात्मक पाटो शिक्षा पनि बनेको छ । केही वर्षअघिसम्म विद्यालयको पहुँच बाहिर रहेको समुदायका बालबालिका अहिले विद्यालय जान थालेका छन् । समुदायका केही युवाले एसइई र कक्षा १२ समेत उत्तीर्ण गरेका छन् ।

भाषा आयोगले पनि वनकरिया भाषाको संरक्षणमा सहयोग गरिरहेको छ । आयोगले समुदायका सदस्यको सहयोगमा शब्द सङ्कलन गरी प्रारम्भिक पाठ्यसामग्री तयार पारिसकेको जनाएको छ । “वनकरिया बस्तीको स्थलगत सर्वेक्षणपश्चात् आरती वनकरिया र सम्झना वनकरियाको सहयोगमा शब्द सङ्कलनको काम गरेका छौँ”, भाषा आयोगका उपसचिव गोविन्दप्रसाद पौडेल भन्छन “सङ्कलन भएको शब्दबाट विज्ञहरुद्वारा प्रारम्भिक चरणको पाठ्यसामग्री तयार पारिसकेका छौँ, केही दिनभित्रै प्रकाशन गर्ने तयारी भएको छ ।” साथै, वनकरिया समुदायको पहिचान झल्किने वृत्तचित्र पनि निर्माण गरिएको उपसचिव पौडेलको भनाइ छ ।

 

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु