global ime bank Long Banner Ad

गृहपृष्ठ महोत्तरीमा पुरुष्वत्तम मेला

महोत्तरीमा पुरुष्वत्तम मेला

महोत्तरीमा पुरुष्वत्तम मेला

महोत्तरी । महोत्तरीका दुई ठाउँमा पुरुष्वत्तम मेला सुरु भएको छ । जेठ कृष्णपक्षको समाप्तीसँगै आजदेखि सुरु भएको अधिकमाससँगै जिल्लाका लोहारपट्टी–४ पिपराढी र सोनमा(५ रामजानकी गेरुकाधाममा पुरुष्वत्तम मेला सुरु भएको हो । गेरु रङ्गको लेदो निस्कने नदीको दह परेको ठाउँ तथा जलप्रवाहमा पुरुष्वत्तम स्नानको हिन्दू मैथिल परम्परा छ ।

अधिकमासलाई पुरुष्वत्तममास र बोलीचालीमा मलमास पनि भनिन्छ । यही चलनले यो धार्मिक मेलालाई मलमास मेला पनि भन्ने गरिन्छ ।

अधिकमासको आइतबार र मङ्गलबार पुरुष्वत्तम मेला र स्नानको मैथिल परम्परा छ । यसअनुसार अधिकमास सुरु भएको पहिलो दिन नै आइतबार परेपछि दुवै ठाउँमा आजै धार्मिक मेला र स्नान सुरु भएको हो ।

गेरु रङ्गको लेदो वा पानी भएको ठाउँमा स्नानको परम्परा भएको हुँदा यसलाई ’गेरुका स्नान’ र मेलाको ठाउँलाई ’गेरुकाधाम’ भनिन्छ ।

प्रत्येक तीन वर्ष पुग्नअघि दुई औसीबीचमा सङ्क्रान्ति नपर्ने अवधिमा अधिकमास पर्ने गर्छ । यो सामान्यतया ३३ महिना नपुग्दै पर्छ ।

भगवान विष्णुको प्रिय हुँदा यो मासलाई पुरुष्वत्तम मास भन्ने गरिएको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णव बताउछन ।

हिन्दू परम्परामा यो मासभरि गरिने दानले पूण्य प्राप्त हुने विश्वास गरिन्छ । जिल्लामा पुरुष्वत्तम मेला लाग्ने लोहारपट्टी–४ को पिपराढी बिग्ही र गेरुकी नदीको सङ्गममा र सोनमा–५ को रामजानकी गेरुकाधाम कन्तवा नदी किनारमा अवस्थित छ ।

पुरुष्वत्तम मासको यो मेलामा गेरुका स्नानले शरीरका विकार हट्ने, घाउखटिरा नहुने र कहिल्यै नास नहुने पूण्य प्राप्त हुने विश्वास रहेको मैथिली संस्कृतिविद् जलेश्वर–५ पतैलीका बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।

मेला सुरु भएकै दिन रामजानकी गेरुका धाममा हजारौ नरनारीले स्नान गरेका धामका महन्थ बालक दासले बताउनुभयो । दशगजाबाट एक किलोमिटरभन्दा कम दुरी रहेको हुँदा यहाँ मेला हेर्न र स्नान गर्नेहरु अधिकांश भारतीय रहेका उनको भनाइ छ ।

पुरुष्वत्तम मासको धार्मिक महत्वबारे हिन्दू परम्पराका स्कन्द पुराण, भविष्य पुराण, पद्म पुराणसहित् कैयौ धार्मिक ग्रन्थमा वर्णित छ ।

दुवै मेलामा मधेश र मिथिलाको संस्कृति, परम्परा झल्कने झाँकी र स्थानीय लोकपरम्पराका नृत्य प्रस्तुत गरिदैछन् । मेलामा व्यापारिक स्टलसँगै रोगटे पिङ्, कार रेल र सर्कससहितका मनोरञ्जनका साधन छन् । यो मेला अधिकमास रहने अवधि जेठभरि रहने छ ।

प्रकाशित समय : १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु