गृहपृष्ठ रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक मेला
रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक मेला
रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले प्रारम्भिक बाल विकासको लागि अभिभावक मेला आयोजना गरेको छ ।
प्रारम्भिक बाल विकासको बारेमा शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई जानकारी दिई सचेत बनाउन कार्यक्रम आयोजना गरिएको हो ।
बालबालिकाको वृद्धि र विकासमा विद्यालयीय र परिवारको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा जानकारी दिन मेला आयोजना गरिएको रामेछाप नगरपालिका शिक्षा शाखा प्रमुख रामसिंह डडालले जानकारी दिए ।
सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले सहकार्य गरेको सो कार्यक्रममा रामेछाप नगरपालिका भित्रका विभिन्न ३४ वटा विद्यालय, नगरपालिकाको स्वास्थ्य शाखा लगायतले प्रारम्भिक बाल विकाससँग सम्बन्धित विभिन्न शैक्षिक र व्यवहारिक सामाग्री प्रदर्शनीमा राखेका थिए । यसका साथै बाल विकाससँग सम्बन्धित विभिन्न चेतनात्मक नाटक, कथा, कविता, गीत लगायतका प्रस्तुति समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले नयाँ गर्ने नाममा पुराना परम्परागत महत्त्वपूर्ण कुराहरू बिर्सँदै गएको अवस्थामा प्रदर्शनीले बालबालिकालाई ती कुरा चिनाउन र सिकाउन सहयोग गरेको बताए । बालबालिकाको पहिलो पाठशाला घर भएकोले बालबालिकाको विकासका लागि परिवारको महत्त्वपूर्ण भूमिका हुने उनले स्पष्ट पारे ।
रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बाला कार्की लगायतका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँ लगायतका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर बाल क्लब सञ्जालकी अध्यक्ष प्रीति तामाङले बालबालिकाले संस्कार र व्यवहार घर, परिवार, समाज र विद्यालयबाट सिक्ने भएकोले यस विषयमा सबै संवेदनशील हुनु पर्ने बताइन् । यस्ता कार्यक्रमले बालबालिकाको अर्थपूर्ण सहभागिता विकास हुने र प्रतिभा प्रस्फुटन हुने बताइन् ।
प्रकाशित समय : १०:१२ बजे




















