गृहपृष्ठ रारा क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न नेपाली सेनाद्वारा फोटो तथा स्थानीय कला–संस्कृति प्रदर्शनी
रारा क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न नेपाली सेनाद्वारा फोटो तथा स्थानीय कला–संस्कृति प्रदर्शनी
मुगु । कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले मुगुको रारा ताल किनारमा फोटो प्रदर्शनी, स्थानीय कला–संस्कृति प्रस्तुति तथा दौड प्रतियोगिता गरेको छ ।
रारा ताल, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय भेषभूषा र कला संस्कृतिको प्रचार–प्रसार गर्दै खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा स्थानीय नागरिक तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पछिल्लो समय रारा क्षेत्रमा सडक सञ्जाल विस्तार हुनुका साथै नियमित हवाई सेवा सञ्चालन भएपछि रारा भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै स्थानीय कला संस्कृतिको संरक्षण, खेलमार्फत पर्यटन विकास तथा नेपाली सेना र स्थानीय नागरिकबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
रारा ताल तथा रारा राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको हनुमानध्वज गुल्मले आयोजना गरेको कार्यक्रममा नैमती बाजा, हुड्केउली नाच, डाल नाच, खुकुरी–तरवार नाच, देउडा लगायत स्थानीय सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । साथै नेपाली सेनाले विपद् व्यवस्थापन, विकास निर्माण, सांस्कृतिक संरक्षण तथा सामाजिक सेवासँग सम्बन्धित १ सय ४० भन्दा बढी तस्बिर प्रदर्शनीमा राखेको जनाएको छ ।
उक्त प्रदर्शनी अवलोकन गर्न एक हजारभन्दा बढी स्थानीय नागरिक तथा खेलाडी सहभागी भएका थिए ।
खेल पर्यटनको विकास गर्ने उद्देश्यले नेपाली सेना हनुमानध्वज गुल्मले प्रत्येक वर्ष आयोजना गर्दै आएको १६ किलोमिटर दूरीको ‘रारा ट्रेल रन’ यस वर्ष छैटौं संस्करणमा पुगेको छ । प्रतियोगिताले मुगु जिल्लासहित कर्णाली प्रदेशको खेल क्षेत्र विकास, युवामा एकता भावना अभिवृद्धि तथा सेना–नागरिक सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको नेपाली सेनाको भनाइ छ ।
स्थानीय नागरिकहरूले फोटो प्रदर्शनी ज्ञानमूलक र सन्देशमूलक रहेको बताएका छन् । सेनाले सीमा सुरक्षा मात्र नभई विपद्का समयमा उद्धार, नागरिकको ज्यान–धनको सुरक्षा, विकास निर्माण तथा दैवी प्रकोपमा पीडित नागरिकको सहयोगमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको सन्देश प्रदर्शनीमार्फत प्रवाह गरिएको थियो ।
छायाँनाथ रारा नगरपालिका–९ का स्थानीय बिर्खबहादुर रोकायाले यस्ता प्रदर्शनी रारा ताल आसपासमा मात्र सीमित नगरी रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म पनि विस्तार गर्न आवश्यक रहेको बताए ।
नेपाली सेनाका अनुसार प्रदर्शनीमा उत्तर–पश्चिम पृतना अन्तर्गत १६ पल्टनहरूले सञ्चालन गरेका विपद् व्यवस्थापन, हिमपहिरो उद्धार, सुत्केरी उद्धार, स्वास्थ्य सेवा, पर्यटन, संस्कृति संरक्षण तथा स्थानीय नागरिकसँग सहकार्यमा गरिएका विकास पूर्वाधार निर्माणसम्बन्धी गतिविधिका तस्बिरहरू समावेश गरिएको थियो । साथै हनुमानध्वज गुल्मको इतिहासबारे पनि जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।
प्रकाशित समय : ०६:०१ बजे



















