global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘यमच्छो’ अर्थात् ‘विरेन्द्र ताल’

‘यमच्छो’ अर्थात् ‘विरेन्द्र ताल’

‘यमच्छो’ अर्थात् ‘विरेन्द्र ताल’

गोरखा । पचास वर्षअघिसम्म सामागाउँका बासिन्दाले गाउँमाथिको पवित्र ताललाई ‘यमच्छो’ भन्थे । विसं २०३४ मा जब तत्कालीन राजा वीरेन्द्र यहाँ भ्रमणमा आए, उन यमच्छो देखेर गदगद् भएको थियो । मनास्लु बगेर जमेको यो ताल राजालाई धेरै नै मन परेछ भन्ने स्थानीयले महसुस गरेछन् । राजा बिदा हुने बेला स्थानीयले हार्दिकताका साथ यमच्छोको नाम सोही दिनदेखि विरेन्द्रको नामबाट राखिदिएको र त्यो सुनेर खुसी भएको थियो ।

यो इतिहासबारे चुमनुब्री गाउँपालिका–१ का पूर्वअध्यक्ष वीरबहादुर लामाले सुनाएको हो । सामागाउँभन्दा केही माथि मनास्लुको काखमा अवस्थित यही सुन्दर ताललाई त्यसपछि सबैले वीरेन्द्र ताल भन्न थालेको उनले बताए ।

त्यही बेलादेखि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्नुका मुख्य आकर्षणमध्य यो ताल पनि पर्ने गरेको स्थानीयको भनाइ छ । गत वर्ष २०८२ मा यहाँ करिब १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेकामा दुईतिहाइभन्दा धेरैले सामागाउँ (नुब्री भ्याली) भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को तथ्याङ्कमा उल्लेख छ ।

यसरी बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक सामागाउँ भ्रमण गर्नुको मुख्य उद्देश्य वीरेन्द्र ताल सामागाउँ र मनास्लु हिमाल रहेको स्थानीय मिङ्मार छिरिङ लामाले बताए । पछिल्लो समय समुद्री सतहबाट करिब तीन हजार ६९१ मिटर उचाइमा अवस्थित वीरेन्द्र ताल मनास्लु पदयात्रामा आउनेहरूको रोजाइमा पर्न थालेको उनले सुनाए ।

सामागाउँबाट करिब आधा घण्टा पैदल हिँडेर वीरेन्द्र ताल पुग्न सकिन्छ । यसलाई स्थानीयले ‘यामच्छो’ भन्छन् । यामच्छो तिब्बती शब्द हो भने यसको अर्थ ‘माथिल्लो ताल’ हुने गरेको जानकारहरू बताउँछन् ।

वीरेन्द्र ताल चारैतिर कडा चट्टानले घेरिएको छ । माथिपट्टि सेता हिमाल फेटा बनेर टल्किएका छन् । यहाँ पुग्न गोरखा सदरमुकामबाट एक दिन मोटरमा र तीन दिन पैदल हिँड्नुपर्ने एमक्यापका भुवनराज ओझाले बताए । सदरमुकामबाट सिर्दिबाससम्म मोटरमा र सिर्दिबासबाट तीन दिन पैदल हिँडेर सामागाउँ पुग्न सकिने जानकारी दिए ।

वीरेन्द्र ताल मुख्यगरी पुङ्गेन ग्ल्यासियर (हिमनदी)बाट पग्लिएर आउने पानी र हिउँबाट बनेको छ । पुङ्गेन शब्द तिब्बती भाषाको ‘फुन ग्यान’बाट बनेको हो, जसको अर्थ तीन चुचुराहरू हो । पुङ्गेनको अर्थ ‘रक्षक देवता’समेत रहेको स्थानीय मिङ्मार छिरिङको भनाइ छ । उहाँका अनुसार सन् १९५० अघि सामागाउँवासीले मनास्लु आरोहण गर्दा पुङ्गेन देवता रिसाउने डरले कसैलाई पनि आरोहण गर्न दिँदैनथे । त्यसैकारण जापानबाट मनास्लु आरोहण गर्न आएका टोलीलाई सामागाउँवासीले तीनपटकसम्म आरोहणमा रोक लगाएको उनले सुनाए ।

अचेल भने मनास्लु हिमाल आरोहणमा कुनै रोक छैन । हरेक वर्ष सयौँले हिमाल आरोहण गर्ने गरेका छन् । मनास्लु हिमाल आरोहणका लागि जाँदा वीरेन्द्र ताल हुँदै बेसक्याप जानुपर्ने हुन्छ । सो तालबाट मनास्लु बेसक्यापसम्म जान चार घण्टा पैदल हिँड्नुपर्ने स्थानीय बताउँछन् ।

वैज्ञानिक अध्ययनका अनुसार वीरेन्द्र तालको क्षेत्रफल निरन्तर बढिरहेको छ । सन् १९८८ मा शून्य दशमलव ०९ वर्ग किलोमिटर रहेको यस तालको आकार बढेर सन् २०२४ मा शून्य दशमलव २२ वर्गकिलोमिटर पुगेको छ । जलवायु परिवर्तका कारण हिमनदीहरू तीव्र रूपमा पग्लँदा यस तालको क्षेत्रफल बढेको अध्ययनले देखाएको छ । यसअघि, विसं २०८१ मा हिमपहिरोका कारण वीरेन्द्र तालको पानी बाहिर उछिट्टिएर पुललगायत केही भौतिक संरचना नष्ट भएका थिए ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु