global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मानवसेवा आश्रमको महायज्ञमा तीन करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन

मानवसेवा आश्रमको महायज्ञमा तीन करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन

मानवसेवा आश्रमको महायज्ञमा तीन करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन

कास्की । मानवसेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट रु तीन करोड तीन लाख सङ्कलन भएको छ ।

मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नका लागि अर्थसङ्कलन गर्ने उद्देश्यले यही वैशाख १९ देखि २६ गतेसम्म पोखरा–२५ हेमजास्थित आश्रम प्राङ्गणमा महायज्ञ लगाइएको थियो ।

महायज्ञबाट मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिका लागि नगद, जिन्सी, क्युआर तथा प्रतिबद्धतासहित सो रकम सहयोग रकम प्राप्त भएको यज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिए ।

महायज्ञ अवधिभर श्रद्धालु भक्तजन, विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता, धर्मप्रेमी तथा दाताहरूको उत्साहजनक सहभागिताबाट उक्त रकम सङ्कलन गरिएको हो । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले निःशुल्क रुपमा कथा वाचन गरेका थिए ।

दैनिक रूपमा सञ्चालन गरिएको भागवत कथा वाचन, भजन–कीर्तन, योग शिविर, विद्यार्थी लक्षित उत्प्रेरणात्मक कार्यक्रम, आरती तथा निःशुल्क स्वास्थ्य शिविरले धार्मिक तथा आध्यात्मिक वातावरणलाई थप प्रभावकारी बनाएको शाहीले बताए ।

हाल निर्माणाधीन भवनको करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र महायज्ञबाट प्राप्त सहयोगले बाँकी निर्माण कार्यलाई थप गति प्रदान हुने विश्वास गरिएको संयोजक शाहीले बताए ।

“महायज्ञ केबल आर्थिक सङ्कलनको अभियान मात्र नभई धार्मिक, सामाजिक तथा मानवीय चेतना अभिवृद्धि गर्ने माध्यमका रूपमा सफल भयो । पोखरा महानगरपालिका, प्रदेश तथा सङ्घीय सरकारसँगै विभिन्न दाताहरूको निरन्तर सहयोगले सेवा अभियानलाई सशक्त बनाएको छ । महायज्ञबाट सङ्कलन भएको रकमले आश्रमको बाँकी काम पूरा गर्न सहयोग पुग्नेछ”, शाहीले भने ।

आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडक आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनाको काम गर्दै आएको छ । हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ । पोखराका दुई केन्द्रमा मात्र करिब ३०० आश्रित रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु