बाँके । ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्र बाह्रैमास सिँचाइ सुविधामा जोडिनेछ, जसले किसानको उत्पादन र आम्दानी दुवै बढाउनेछ ।’
यो भनाई हो सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहको । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरसँग जोडिएको डुडुवा शाखा नहर निर्माण कार्य अहिले तीव्रगतिमा अघि बढिरहेको उनले बताए ।
आयोजना बाँके जिल्लाको कृषि उत्पादन वृद्धि र दीर्घकालीन सिँचाइ व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना हो । वर्षौंदेखि आकाशे पानी र मौसमी खेतीमा निर्भर रहेका किसानलाई बाह्रैमास सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस आयोजनाको डुडुवा शाखा नहरलाई अहिले विशेष प्राथमिकताका साथ निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर साहका अनुसार डुडुवा शाखा नहर २३ दशमलव ४ किलोमिटर लामो हुनेछ । उक्त नहरमार्फत करिब १६ हजार हेक्टर कृषि योग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । नहरअन्तर्गत खजुरा र मानपुर मुख्य शाखाका रूपमा विकास गरिनेछ भने त्यससँगै विभिन्न उपशाखा नहरहरू निर्माण गरी गाउँगाउँसम्म पानी पु¥याइने योजना रहेको छ ।
उनले सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स पानी डुडुवा शाखा नहरमा खसालिने जानकारी दिँदै यसले बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका हजारौँ किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।
अहिले पनि मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित पानी सञ्चालन भइरहेकाले नहर निर्माण पूरा भएसँगै खेती प्रणालीमा ठूलो परिवर्तन आउने उनको भनाइ छ ।
विगतमा ठेक्का विवाद, निर्माण कम्पनीको ढिलासुस्ती र प्रशासनिक प्रक्रियाका कारण डुडुवा शाखा नहर निर्माण लामो समयसम्म प्रभावित बनेको थियो ।
पुरानो ठेक्का रद्द भएपछि नयाँ कम्पनीमार्फत पुनः निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ । हाल निर्माण कार्य करिब २५ प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी कामलाई तीव्र बनाइएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजना पक्षका अनुसार निर्माण सम्पन्न भएपछि बाँके जिल्लामा सिँचाइ पहुँच उल्लेखनीय रूपमा विस्तार हुनेछ भने खेतीयोग्य जमिनको उत्पादकत्वमा वृद्धि आउने अपेक्षा गरिएको छ ।
‘डुडुवा शाखा नहर बनेपछि अहिले सुक्खा र खडेरीको समस्याले प्रभावित किसानलाई ठूलो राहत मिल्नेछ,’ सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीले भने ।
उनका अनुसार अहिले धेरै किसान वर्षायाममा मात्रै खेती गर्न बाध्य छन् भने हिउँदमा पर्याप्त पानी नहुँदा खेत बाँझै रहने अवस्था छ ।
डाँगीले नहर निर्माण पूरा भएपछि किसानले वर्षमा एकभन्दा बढी बाली लगाउन सक्ने, तरकारी तथा व्यावसायिक खेती विस्तार हुने र कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे ।
उनले सिँचाइ सुविधा विस्तारसँगै किसानको आर्थिक अवस्था सुधार हुनुका साथै स्थानीय स्तरमै रोजगारीका अवसर पनि सिर्जना हुने बताए ।
नेपालगन्ज–सुर्खेत सडकखण्ड अन्तर्गत पर्ने पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा सुरुङमार्फत नहर निर्माण गरिने योजना रहेको छ । सडक तथा बस्ती क्षेत्रलाई असर नपर्ने गरी आधुनिक प्रविधि प्रयोग गरेर टनेल निर्माण गरिने आयोजनाले जनाएको छ । बाँकी क्षेत्र खुला संरचनामार्फत निर्माण हुनेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले रु एक अर्ब १२ करोड लागतमा तीन वर्षभित्र उक्त निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको छ ।
स्थानीय किसानहरू पनि डुडुवा शाखा नहर निर्माणलाई आशाका रूपमा हेरेका छन् । लामो समयदेखि सिँचाइ अभावका कारण उत्पादन घट्दै गएको अवस्थामा अब नियमित पानी उपलब्ध हुने अपेक्षाले किसान उत्साहित बनेका छन् । आयोजना सम्पन्न भएपछि बाँकेको कृषि क्षेत्र थप व्यवस्थित, उत्पादनमुखी र व्यवसायिक बन्ने विश्वास गरिएको छ ।




















