global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ तालचोक – बेगनास सडकः तेस्रोपटक म्याद थप

तालचोक – बेगनास सडकः तेस्रोपटक म्याद थप

तालचोक – बेगनास सडकः तेस्रोपटक म्याद थप

गण्डकी । निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ । पोखरा महानगरपालिका – २७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको उक्त सडक दुई वर्षभित्रमा सक्नेगरी विसं २०७९ असारमा सम्झौता भएको थियो ।

आगामी असारभित्र काम सक्नेगरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । “तेस्रोपटक म्याद थप भएको छ, निर्माण कम्पनीले आगामी असारभित्रमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ”, उनले भने, “अहिलेसम्म सडकको भौतिक प्रगति करिब ७५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ ।”

सहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व बैंक, परामर्शदातालगायत सरोकार भएका निकायसँगको छलफलमा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको इन्जिनियर गौतमले बताए । उनका अनुसार यसअघि थपिएको म्याद गत चैत १७ मा सकिएपछि तेस्रोपटक म्याद थप भएको हो ।

‘स्वच्छन्द(सपना(वल्र्डवाइड जेबी’ले निर्माण ठेक्का सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गरेको थियो । त्यसयता पनि निर्माण कम्पनीकै ढिलासुस्तीका कारण सडक समयमा बन्न नसकेको हो । तीन दशमलव २८ किमीको उक्त सडकमा जग्गा विवादका कारण पनि निर्माण प्रभावित हुन पुगेको इन्जिनियर गौतमले बताए ।

महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने उनको भनाइ छ । यसअघि निर्माण कम्पनीले प्रतिबद्धताअनुसार सडक निर्माणलाई गति दिन नसकेपछि स्थानीयस्तरबाट आलोचना हुँदै आएको थियो । विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो ।

एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको थियो । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्ने जनाइएको छ । सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार निर्माण हुनेछन् भने सडकमा तीनवटा पुल पनि बन्नेछन् ।

महानगरको गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नतिलाई लिइएको नगरप्रमुख धनराज आचार्यले बताए । चार लेनको सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रूपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने अपेक्षा छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु