गृहपृष्ठ स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
काठमाडौं । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिवार पनि जारी छ ।
सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ ।
कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए । ‘स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ’, उनले भने ।
सरकारले शुक्रवार बल्खु र कालीमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त वस्ती हटाएको थियो ।
हालसम्म काठमाडैँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ । शहरी विकास मन्त्रालयका आधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहिन परिवारको लगत सङ्कलन गरिरहेको छ ।
प्रकाशित समय : १०:४८ बजे




















