गृहपृष्ठ दुर्गम क्षेत्रमा नेपाल टेलिकमले विस्तार गर्यो भी-स्याट प्रविधिमा आधारित टुजी सेवा
दुर्गम क्षेत्रमा नेपाल टेलिकमले विस्तार गर्यो भी-स्याट प्रविधिमा आधारित टुजी सेवा
काठमाडौँ । नेपाल टेलिकमले देशको विकट तथा दुर्गम क्षेत्रका विभिन्न स्थानहरूमा स्याटलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भी-स्याट टेलिसेन्टर उपकरणमार्फत टेलिफोन सेवा विस्तार गरेको छ । कम्पनीले यो प्रविधिमार्फत टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डेटा सेवा प्रदान गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा डोल्पा जिल्लाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो-रोल्पा पदमार्ग रहेको दोलखाको ना-गाउँ र गोसाईँकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा बिस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल देशभर ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह भइरहेको छ ।
यो प्रविधिका सबैभन्दा बढी अर्थात् १४ साइट डोल्पा जिल्लामा रहेका छन् । डोल्पाको छार्का-ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट रहेका छन् । हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा), सोरुकोट र भी गरी पाँच/पाँच स्थानमा साइट रहेको उल्लेख छ ।
यसै गरी मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना-गाउँ (च्छो–रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाईंकुण्ड र चन्दनबारी तथा दार्चुलाको टिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठी चौरमा यस्ता साइट रहेका छन् । यस्ता दुर्गम वस्तीमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकोप्टरबाट उपकरण र सामानहरू ओसारेर समेत दूरसञ्चार सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
यस्ता स्थानहरूमा कम्पनीले गरेको लगानीबाट व्यावसायिक लाभ हासिल नभए पनि ‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने कम्पनीको मूल नारालाई साकार बनाउने प्रयास रहेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार कम्पनीको ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत यी कार्य भएका हन् ।
त्यसै गरी ब्याकबोन प्रसारण निर्देशनालय अन्तर्गत सञ्चालित अप्टिकल फाइबर नेटवर्कको विस्तारमार्फत पूर्व-पश्चिम तथा उत्तर-दक्षिण करिडोरसँगै प्रमुख सहरी, अर्ध-सहरी तथा ग्रामीण क्षेत्रहरूमा उच्च क्षमतायुक्त, सुरक्षित तथा भरपर्दो डेटा ट्रान्समिसन सेवा सुनिश्चित गर्नका लागि आवश्यक कार्य समेत भइरहेका समेत जनाएको छ ।
प्रकाशित समय : १७:०७ बजे




















