गृहपृष्ठ ‘हिम घोडा’सहित पन्ध्र वर्षपछि सङ्गीतमा फर्किए विनोद
‘हिम घोडा’सहित पन्ध्र वर्षपछि सङ्गीतमा फर्किए विनोद
मनाङ । गायक एवम् सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किएका छन् ।
गायक, पर्यटन व्यवसायी, समाजसेवी एवम् फिल्म निर्माणमा सक्रिय गुरुङ लामो समयपछि नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै सङ्गीत क्षेत्रमा फर्किएका हुन् ।
लामो समयपछि पुनः सङ्गीतमा फर्किएका उनले भने,“पुनः सङ्गीत क्षेत्रमा आउने सपना पूरा भएको छ । मेरो लागि गीतसङ्गीत भनेको एक साधना हो, जसले मलाई सधैँ ऊर्जा र प्रेरणा दिन्छ ।”
विगतमा देशमा भएका विभिन्न महामारीजन्य घटना र मनाङमा बाढीपहिरोजस्ता विपद्ले गर्दा गीतसङ्गीतभन्दा समाजसेवालाई समय दिनुपरेको गुरुङले सुनाए।
अब भने यसै क्षेत्रमा निरन्तर लागिरहेने उनको प्रतिबद्धता छ । ‘हिम घोडा’ गीतमा शब्द तथा सङ्गीत अशुसेन लामाले गरेका छन् भने सङ्गीत संयोजन राजु खड्काले गरेका छन्। यस गीतको छायाङ्कन मनाङका विभिन्न रमणीयस्थलमा गरिएको छ ।
गीतले मनाङको प्राकृतिक सुन्दरता झल्काउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ । गायक गुरुङले ‘हिम घोडा’ मार्फत आफ्नो पुनरागमन मात्र नभई नेपाली सङ्गीत क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ ।
उनको गीत, सङ्गीतमा मनाङको संस्कृति, संस्कार र प्राकृतिक सौन्दर्यता समावेश भएको पाइन्छ ।
प्रकाशित समय : ०६:१४ बजे




















