गृहपृष्ठ मानसिक समस्या पहिचान र न्यूनीकरणका लागि कामपाको पहल
मानसिक समस्या पहिचान र न्यूनीकरणका लागि कामपाको पहल
काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै त्यसको पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि पहल थालेको छ ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका व्यक्तिलाई सहयोग गर्ने तत्परता, यसको व्यवस्थापनसँग सम्बन्धित कानुनी दायित्व, सामाजिक अवस्था, प्राज्ञिक तथा सरोकारवालासँग छलफल भइरहेको जानकारी दिइन ।
उनले भनिन, “विवाहपछि महिलाहरूको जिम्मेवारी, उनीहरूप्रति परिवार र समाजको अपेक्षा, गर्भवती हुने अवधि, सुत्केरी र त्यसपछिको एक वर्षमा ठूलो मानसिक समस्या भोग्नु पर्ने, यसै कारण जीवन नै अन्यत्र मोडिने अवस्था छ । यस्ता अवस्था पुरुषहरूमा पनि छन् ।” कार्यवाहक प्रमुख डङ्गोलले शारीरिक रूपमा देखिएको रोगलाई सबैले स्वीकार गरेर उपचार गराउने मानसिक रोगलाई स्वीकार नगरी रोग भएको व्यक्ति झन् पीडित भएर बस्नुपर्ने अवस्थामा सुधार गर्नु पहिलो आवश्यकता भएको बताइन ।
“कामपाले अहिले अभ्यास गरेको स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी सेवालाई कहाँ जोड्न सकिन्छ यसमा प्राज्ञिक क्षेत्रबाट सुझाव चाहिएको छ”, स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले भने, “विज्ञ, अनुसन्धाता, प्राज्ञिक र व्यवस्थापनका क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूबाट पृष्ठपोषण लिएर मानसिक स्वास्थ्य सुधार गर्ने तयारीमा कामपा छ ।”
बारम्बार निराश हुनु, आफू फन्दामा परेको ठान्नु, मादकपदार्थ र लागुऔषधको सेवन बढ्नु, छटपटी र व्याकुलता बढ्नु, निद्रामा गडबडी हुनु, कसैसँगको भेट वा सामाजिक सञ्जालमा निराशाका कुरा लेख्नु, चाँडो रिसाउनु, हेलचक्य्राइँ पूर्ण व्यवहार गर्नु, मेरो भविष्य केही छैन भन्नु, मानसिक स्वास्थ्य समस्याका लक्षण हुन् ।
विद्यालय उमेरका बालबालिकामा मानसिक स्वास्थ्यको अवस्था अध्ययन गर्न कामपाले गत वर्ष जेठ २७ गते विद्यालय उमेरका १३४ जना विद्यार्थीहरूमा सर्वेक्षण गर्दा ७१ जना अर्थात् ५२ दशमलव ९९ प्रतिशत बालबालिकाले सामान्य भएको, खुसी रहेको प्रतिक्रिया दिएका थिए । उनान्तीस जना अर्थात् २१ दशमलव ६४ जनाले भावनात्मक लक्षण देखिएको थियो ।
सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको प्रतिवेदनअनुसार हरेक आठ जनामध्ये एक जना व्यक्तिमा मानसिक समस्या छ । विकासोन्मुख र मध्यम आय भएका देशमा बस्ने नागरिकहरूमा यसको भार धेरै छ । व्यक्तिलाई अपाङ्गता बनाउने १० वटा प्रमुख कारणमध्ये मानसिक स्वास्थ्यसँग सम्बन्धित दुई वटा कारण छन् ।
प्रकाशित समय : १९:२१ बजे



















