global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ धानखोला–लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला–लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला–लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला–लमही सडकखण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ । उक्त सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलोपटक गुणस्तर, टिकाउपना र दिगोपनाको दृष्टिकोणबाट लाभदायी अत्याधुनिक निर्माण प्रविधि ‘फूल डेप्थ रिक्लेमेशन’ र ‘सुपरपेभ आस्फाल्ट’ प्रयोग गरिँदैछ ।

बलियो एवं टिकाउ सडक निर्माण गरेर, पहिल्यै भएका आस्फाल्ट पदार्थ पुनःप्रयोग गरेर तथा वातावरणीय प्रभाव न्यूनीकरण गरेर सो पद्धतिले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दो तथा लागत प्रभावकारी बनाउन सहयोग गर्नेछ । यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर सडकलाई १२ मिटर चौडा पनि बनाउनेछ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडक गुणस्तरीय बनाउन तथा टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभजस्ता अत्याधुनिक प्रविधि प्रयोगको सराहना गरे। “यो राजमार्गमा हरेक दिन निर्भर रहेको हाम्रो प्रदेश र यहाँका जनताका लागि यो एउटा महत्वपूर्ण अग्रगामी कदम हो । यो सडकखण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीका लागि नयाँ अवसर सिर्जना गर्नेछ”, उनले उल्लेख गरे ।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले भन्नुभयो, “धानखोला–लमही सडकखण्ड स्तरोन्नति शुभारम्भ कार्य संयुक्त राज्य अमेरिका तथा नेपालबीचको साझेदारीका सन्दर्भमा महत्वपूर्ण कोशेढुङ्गा हो । एमसिसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायलाई बजार र अवसरसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी गर्दैछौँ । यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले भने, “एमसिए–नेपालको लगानी नेपाल सरकारका योजना तथा कार्यक्रमका पूरकका रूपमा तयार गरिएको हो । यो सहकार्यले सबल पूर्वाधार निर्माण र हाम्रा समुदायका लागि आर्थिक अवसर विस्तारप्रति हाम्रो साझा प्रतिबद्धता प्रतिविम्बित गर्छ । यो आयोजना समयमै सम्पन्न हुने विश्वास छ ।”

एमसिसीका राष्ट्रिय आवासीय उपनिर्देशक सञ्जय पौड्यालले यो महत्वपूर्ण कदमले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने अत्याधुनिक प्रविधि प्रयोग गरेर सबल एवं लागत प्रभावकारी पूर्वाधार निर्माणमा नेपाललाई सघाउने एमसिसीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको उल्लेख गरे।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला–लमही सडकखण्ड स्तरोन्नति कार्यको थालनी एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण कदम भएको बताए । एमसिए–नेपाल यो आयोजना प्रभावकारी रूपमा, पारदर्शितापूर्वक तथा उच्चतम गुणस्तरसहित सम्पन्न गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । सडक मर्मत आयोजना एमसिसी नेपाल कम्प्याक्टको महत्वपूर्ण अंश हो । यसले ढुवानी लागत घटाउने तथा नेपालका सडकको अवस्थामा सुधार ल्याउने उद्देश्य राखेको छ ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु